सहस्राब्दी पदमार्ग निर्माणका लागि सर्भेक्षण सुरु

-


     मर्दी न्युज    
     असाेज १८ गते २०७७ मा प्रकाशित


स्याङ्जा, १८ असोज । मिलेनियम ट्रेक व्यवस्थापन समितिले सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) पूर्वाधार निर्माण गर्न लागत इस्टिमेटको लागि सर्वेक्षण सुरु गरेको छ ।

चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारद्वारा विनियोजित रकमबाट खर्च गर्न पदमार्ग पर्ने तनहुँ शुक्लागण्डकी नगरपालिका ११ स्थित जन्तेढुङ्गा संरक्षण तथा पार्क निर्माण र स्याङ्जाको पुतलीबजार नगरपालिका १२ गैरीस्वाँरादेखि भीरकोट नगरपालिका २ को सिमानासम्म पदमार्ग निर्माणको लागि पुतलिबजार नगरपालिकाका प्राविधिकबाट सर्वेक्षण सुरु गरिएको छ ।

तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर लामो नेपालकै पहिलो मध्यपहाडी पदमार्ग (मिलेनियम ट्रेक) मा गएको आर्थिक वर्षमा पनि विनियोजित रकमबाट विकास निर्माणका केही काम सम्पन्न भएको छ । कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिन सरकारले जारी गरेको बन्दाबन्दीले केही समय काम रोकिए पनि जेठ लागेदेखि पुनः शुरुभई समयमै काम सम्पन्न गरेका थिए ।

पदमार्गको विकासका लागि चालू आर्थिक वर्ष २०७७/७८ मा गण्डकी प्रदेश सरकारबाट १० लाख मात्र विनियोजन गरेको छ । गत आर्थिक वर्षमा भने यस पदमार्गको लागि ५० लाख बजेट विनियोजन गरेका थिए ।

पुतलीबजार नगरपालिका–१२ स्थित गैरीस्वाँरादेखि केघा देउरालीसम्म नयाँ पदमार्ग निर्माण गर्न लागिएको व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले जानकारी दिए । विनियोजित बजेट कम भएकाले दुई ठाउँमा मात्र सर्वेक्षण गरिएको उनले जनाए ।

समितिले पदमार्ग क्षेत्रका पर्यटकीय सम्पदाको पहिचान गर्दै धार्मिक, ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षण र विकासका लागि गुरुयोजना निर्माण गरेको छ । सोही योजना अनुरुप पदमार्ग क्षेत्रमा पर्ने रक गार्डेन, चरा पर्यटन सम्भावना, मिलेनियम गुफा, थुम्काथुम्कीलगायतको संरक्षण तथा उपयोग गर्ने र कृषिलाई पर्यटनसँग जोड्ने आदि लक्ष्य रहेको पनि महासचिव गुरुङले बताए ।

यसअघि नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयको सहयोगमा पदमार्ग क्षेत्रका विभिन्न ४४ सङ्केत पाटी राखिसकेका छन् । त्यस्तै समितिले पदमार्गको नयाँ नक्शा छपाईको तयारीका साथै चराचुरुङ्गी सम्बन्धी अध्ययन पनि भइरहेको जनाएको छ ।

पदमार्ग क्षेत्रमा १७ वटा घरवास (होमस्टे) सञ्चालनमा आइसकेको छ । घरवाससँगै स्थानीयले प्राचीन संस्कृति घाँटु, झोरा जस्ता नाचको संरक्षण एवं विकासको प्रयास थालेका छन् । पदयात्रा मार्गका विभिन्न स्थानबाट धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ, गणेश हिमालसहितका हिमाली दृश्यका साथै पोखरा आसपासका काहुँकोट, कोट दरबार, बरपाण्डेथुम, ढोर दरबारलगायत पहाडी स्थानका रमणीय दृश्य पनि एकसाथ अवलोकन गर्न सकिन्छ ।