प्रदेश ५ को स्थायी राजधानी र नामका विषयमा आज मतदान हुँदै

-


     मर्दी न्युज    
     असाेज २० गते २०७७ मा प्रकाशित


बुटवल । प्रदेश ५ को स्थायी राजधानी र नामकरणको प्रस्तावमाथि आज प्रदेशसभामा मतदान हुँदैछ ।

सरकारका तर्फबाट आन्तरीक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले पेश गरेको प्रदेश ५ को नाम र स्थायी राजधानीको प्रस्तावमा आज मतदान हुने भएको हो।
त्यसका लागि प्रदेश सभाको बैठक आज मध्यान्ह १२ बजे बस्दैछ । सभामुख पूर्णबहादुर घर्तीले छलफल सकिएको १८ घण्टाभित्र संशोधन प्रस्ताव दर्ता गर्ने सदस्यका लागि प्रदेशसभा स्थायी राजधानी र नामकरणसम्बन्धी आन्तरिक कार्यविधि २०७७ को दफा ६ उपदफा १ बमोजिम १८ घण्टाको समय उपलब्ध गराएका छन् ।

बिहान साढे ८ बजेसम्म एउटा मात्र संशोधन प्रस्ताव दर्ता भएको छ । संशोधन दर्ताको समय मंगलबार साढे १० बजे सकिँदैछ । सो समयमा संसोधन प्रस्ताव आएपनि पहिले सरकारले १६ गते पेश गरेको मूल प्रस्तावमा निर्वाचन हुने प्रदेश ५ सभामुख पूर्ण बहादुर घर्तीले जानकारी दिए ।

यदि मन्त्रीको प्रस्तावमा दुई तिहाई नपुगेमा बल्ल संसोधन प्रस्तावमा मतदान प्रक्रिया अगाडि बढ्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।

यता नेकपाले प्रस्तावको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ भने नेपाली कांग्रेसले प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।

कांग्रेसले निर्णय गरे पनि कांग्रेसका केही सांसदहरुले ह्विप उल्लंघन गरेर मतदान गर्ने सम्भावना रहेको बताइन्छ। दाङ, बाँके र बर्दियाका कांग्रेस सांसदले पार्टीले ह्विप लगाए त्यसविरुद्ध जाने चेतावनी दिइरहेका छन्।

यता नेकपाले रुपन्देहीलाई आर्थिक तथा पर्यटकीय र देउखुरी क्षेत्रलाई प्रशासनिक राजधानी बनाउने भन्दै सांसदहरुलाई आश्वस्त पारेको बुझिएको छ।

८७ सदस्यीय प्रदेश ५ मा दुई तिहाईको लागि ५८ मत आवश्यक पर्छ। नेकपाका ६१ सांसद मध्ये एकजना सभामुख र एकजना उपसभामुखले मतदान गर्न पाउदैनन्।