
पोखरा । विश्व सदा आधुनिकतातर्फ उन्मुख छ, नेपाल अछुतो रहने कुरै भएन। आधुनिकताले मान्छेलाई अल्छि र लोभी बनाउदै लगेको र फलस्वरूप वातावरणीय असन्तुलन तथा विकृतीहरु ल्याएको बारेमा आफ्नो अनुभव लेख्न मनलाग्यो। साथै हामीले हाम्रो बच्चाहरुलाई कस्तो किसिमको वातावरणमा हुर्काउँदैछौ भन्ने बारेमा पनि केहीकुरा सुनाउनको लागि यो लेख पस्किएको छु।
पेशाले पर्यटनकर्मी (ट्रेकिङ गाइड) भएको नाताले पेशागत सेरोफेरोमा रहेर विश्लेषण गर्दा ३० वर्ष अगाडिको ट्रेकिङ व्यवस्थापन गर्ने तरिका, अतिथि सत्कार गर्ने तरिका, खानपिन गर्ने तरिका र फोहोरमैला व्यवस्थापन गर्ने तरिका आदिमा अहिले आकाश जमिनको फरक देखिन्छ।
उ बेला मैदा, चामल, चिनी लगायत अधिकांश खाद्यपदार्थ १०० केजीको जुटको बोरामा आउथे, किन्नेले आफ्नै भाँडो या थैलोमा थापेर लिएर जाने चलन थियो। मट्टीतेल किन्नलाई आफ्नै जर्किन र तोरीको तेल पनि १५ लिटरको टिनमा आउने हुनाले आफ्नै भाडो लिएर किन्न जानुपर्थ्यो। अहिले जस्तो हरेक चिज प्लास्टिकमा आउने थिएन। स्वभाविक रूपमा प्लास्टिकजन्य फोहोर हुनेनै भएन । जुटको बोरा पुनः प्रयोग हुन्थ्यो।
सामग्रमा भरिया तथा श्रमिकहरु पनि अहिलेजस्तो चाउचाउ बिस्कुटको खाजा खाने थिएनौं। सामान्यतया चिउरा तरकारी, सेलरोटी, भुटेको मकै, भट्ट खाइन्थ्यो तसर्थ बाटोमा बग्रेल्ती फोहोर फाल्नुपर्ने थिएन।
मध्यपान गर्नेहरुको लागी पनि खुकुरी रम तथा स्टार बियर भन्दा धेरै रोजाइ थिएन। पर्वत, बागलुङ म्याग्दीसम्म त लिटरको हिसाबले बेचिने कान्टिन पाइन्थ्यो विदेशीहरु पनि चाख मानिमानी पिउँथे। अस्तब्यस्त रूपमा सीसाको बोतलहरु फोहोरका रूपमा आउने थिएनन्।
शेर्पाहरुले सामान्यतया क्यामसाइटहरु सफा छोडेर जान्थे, चर्पी तथा अन्य फोहोरहरु खाल्डोखनेर पुर्थे किनकि अर्को चोटि त्यो ठाउँमा आउनुपर्छ भन्ने हेक्का राख्थे। खानाको रूपमा दालभात, अमलेट, पानकेक, मम आदि बनाउथे, कोहिकोहिले टुनाफिस तथा सार्डिन जातका माछाका डिब्बा ल्याउथे। भिआइपि ग्रुपले मात्रै चकलेट पाउडर तथा ओभाल्टिन भन्ने शक्तिबर्धक पेय पदार्थ ल्याउथे।
भरियाहरुले पनि चुरोट बिडिं तथा तमाखु बेरेका कागजहरु आगो सल्काउन प्रयोग गर्ने हुनाले बाटोमा खासै फोहोर देखिने थिएन। पानीधारा वा कुवाको छेउमा मन्दिर, माने, नागथान आदि हुन्छ भन्ने डरले फोहोर गर्ने थिएनन्।
अहिले परिस्थिति बदलियो । हरेक चिज एक किलो, आधाकिलो, एकपाउ पनि प्लास्टिकमा प्याक भएर आउछ। गुट्खा, पुकार, करेन्ट जस्ता स्वास्थको लागी हानिकारक बस्तुहरु डोल्पा, जुम्ला हुम्ला, मुगुजस्तो भनेकै बेलामा सिटामोल नपाईने ठाउँमा पनि छ्यापछ्याप्ती पाइन्छ।
चाउचाउ तथा बिस्कुट अनि बोतल र क्यानमा आउने पेय पदार्थको कुरै नगरौं। फोहोर हामी गर्ने अनि सफा सरकारले गरेन भनेर आलुपांडे तर्कगर्ने जमात दिनप्रतिदिन बढ्दो छ। ट्रेकिङ रुट, साइट सिइङ्ग स्पटहरु, राफ्टिङ्ग गर्ने नदिहरु, पुरातात्त्विक महत्त्वका मठमन्दिर आसपास फोहोरका डंगुर छन।
लाज र घिन लाग्न धेरैजसोलाई छोड्यो। आफ्नो घरभित्र अनि सुत्ने कोठा बाहेक सबै चिज सफा राख्नेकाम सरकारको भन्ने काइते तर्कले हामीलाई कहाँ पुर्याउछ? ट्रेकिङ रुटको कुरामा अन्नपूर्ण बेसक्याम्प रुट भने अहिलेपनि तुलनात्मक रूपमा सफानै देखिन्छ।
आफ्नो कर्मथलो पोखरामा बिहानै मर्निङ वाकको लागी पोखराको प्रसिद्ध लभ्ली डाँडा पुग्छु, कुनैदिन रास्ट्रीय विभुति तथा सहिद पार्क (ग्यारजती) पुग्छु, पोखराको मुटु महेन्द्रपुल तथा चिप्लेढुंगाका उद्योगपति, ब्यापारी, डाक्टर तथा इन्जिनियरहरु, विद्यार्थीहरु समेत बिहानिको हिडाइ गर्ने ठाउँको कुरुप तस्बिर देखेर आफैंलाई लाज लाग्छ।
फोहोर धेरै गर्ने धनिमानीहरु नै हुन। गरिबलाई त ‘बियर, कुरकुरे, लेज’ जस्तो बिलाशी वस्तुहरु किनेर डाँडाकाँडा तिर लिएर जाने, फोहोर गर्ने फुर्सदनै हुँदैन। तिनै आफुलाई सम्पन्न र संभ्रान्त देखिन पर्नेहरु आफुले फोहोर गर्ने र अरुले आएर सफागरि दिनपर्ने जस्तो बिचार बोकेको पाइयो।
हामी आधुनिकताको नाममा उपभोक्ता हुन सिक्यौं तर पश्चिमाहरु ले जस्तो दायित्व बहन गर्न भने सिकेनौं । हामी नेता र प्रधानमन्त्री सिंगापुर तथा अमेरिकाको जस्तो खोज्नेभयौं तर नागरिकको तहमा आफ्नो दायित्व पुरा नगर्ने भयौं।
अब विद्यालयमा सैद्धान्तिक रूपमा विद्यार्थीहरुलाई घोकाएर मात्र पढाउने प्रचलनमा परिवर्तन ल्याउनु पर्छ। हप्ताको एकदिन आफ्नो वरिपरिका बाटोघाटो, चौतारी, पार्क, खोलानाला, इत्यादि सरसफाइमा विद्यालयले नै विद्यार्थिहरुलाई परिचालन गर्नुपर्छ।
घरपरिवार मा पनि आफ्ना बाबुनानी हरुलाई प्याकिङ भएर आएको पत्रु खानेकुरा भन्दा घरमै बनेको खाना तथा खाजाका लागि प्रोत्साहन गरि सकभर प्लास्टिकजन्य फोहोर उत्पादनमा कमि गराउन सकिन्छ, प्लास्टिकलाई बन्देज गर्न त सकिदैन तर सहि रूपमा व्यवस्थापन गर्नभने सकिन्छ। पर्यटकीय स्थलमा लगेर प्याकिङ खाना खानेले अनिवार्य रूपमा फ़ोहोर फिर्ता ल्याउने परिपाटी बसाल्नु पर्छ। ट्रेकिङ, टुर सन्चालन गर्नेहरुले अजैबिक फ़ोहोर फिर्ता ल्याएर प्राकृतिक सुन्दरता कायम गर्न सहयोग पुर्याउनु पर्छ।
नेपालमा पर्यटनको बिकासको लागि ठुलाठुला कुरा गरेर भन्दापनी यस्तै स–सानो कुराहरुबाट पुनर्जागरण ल्याउन अब ढिलो भइसक्यो।

