
फाइल तस्बिर
पोखरा, २४ । दशैंमा खसी भन्दा च्याङ्ग्राको मासु बढी बिक्री हुन्छ । पोखराका ग्राहकले दशैंमा खसीको मासु त्यति खोज्दैनन् । भेडाच्याङ्ग्रा किन्न पोखराका व्यापारीहरु मुस्ताङ पुगिसकेका छन् । अरुबेला पनि भेडाच्याङग्रा पोखरा नभित्रिने भने होइन । दशैंमा जस्तो अरुबेला बिक्री हुँदैन । भेडाच्याङ्ग्राले हिमाली जडिबुटी खाने भएकाले स्वादिलो र स्वास्थ्य उपयोगी मानिन्छ ।
पोखरा २७ स्थित भण्डारी टोलका प्रकाशमणी भण्डारीले एक लट च्याङ्ग्रा मुस्ताङबाट पोखरा भित्र्याइसकेका छन् । कोभिड–१९ का कारण यसवर्ष तिब्बतबाट च्याङ्ग्रा नआउने र मुस्ताङको मात्र आइपुग्ने उनले बताए । यो दशैंमा करिब ४ हजारदेखि ५ हजार गोटासम्म भेडाच्याङ्ग्रा पोखरा भित्रिने उनले बताए । उनले २ दिन अघि मात्र २१२ गोटा च्याङ्ग्रा पोखरा भित्र्याएका छन् । अबका ३/४ दिनभित्र अन्य भेडाच्याङ्ग्रा पनि आइपुग्ने उनले बताए ।

कोरोना माहामारीका कारण उत्तरी कारला नाकाबाट तिब्बती भेडाच्याङ्ग्रा नआएपछि मुस्ताङका किसानले पालेको स्थानीय भेडाच्याङ्ग्राको मूल्य बढेको छ । उपल्लो मुस्ताङका विभिन्न ग्रामीण भेगमा पालिएका भेडाच्याङ्ग्रा स्थानीयले जोमसोम ल्याएर बिक्री गर्दै आइरहेकोमा यसवर्ष भने व्यापारीहरु खोरमा नै पुगेर किन्न थालेपछि स्थानीय भेडाच्यांग्राको भाउ बढेको हो ।
६ वर्षअघि देखि पोखरामा च्याङ्ग्रा बिक्री गर्दै आएका उनी यसवर्ष ग्राहकलाई महँगो पर्ने बताए । उनले जिउँदो प्रतिकिलो ८ सय ५० मा बिक्री गर्दै आइरहेको छ । गतवर्ष ७५० रुपैयाँमा बिक्री गरेका पहिले नै बुकिङ गरिसकेका हुनाले यस मूल्यमा बिक्री गर्न सकेको उनले बताए । उनका अनुसार अब आइपुग्ने भेडाच्याङ्ग्रा झन् महँगो पर्ने छ । ७० गोटा च्याङ्ग्रा बिक्री गरिसकेका उनीकहाँ अहिले २८ हजारदेखि ३८ हजारसम्मका च्याङ्ग्रा छन् ।

सामन्यतय राम्रो खालको च्याङ्ग्रा त्यस्तै २० देखि २५ किलोग्रामसम्मको हुने उनले सुनाए । ‘स्पेशल च्याङ्ग्रा पर्यो भने २० देखि २५ किलोको हाराहारीमा मासु हुन्छ,’ उनले भने । महंगै भएपनि दशैंमा च्याङ्ग्रा बढी बिक्री हुने गरेको उनको अनुभव छ ।
तस्विरः खड्ग गुरुङ र खेम गुरुङ






