
धनगढी, ४ कातिक । शनिवार गस्तीमा गएका बेला प्रहरी सहायक निरीक्षक गोविन्द बिकसँगै हत्या भएका प्रहरी जवान रामबहादुर साउँदको आज विहान शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दानबहादुर रोकायाका अनुसार साउँदलाई हत्या गरी शव मोहना नदीभित्र बालुवाभित्र गाडिएको अवस्थामा फेला परेको हो । जवान साउँदको शव इन्चार्ज असई गोविन्द विकको शव भेटिएको स्थानभन्दा झण्डै ३ मिटर टाढा भेटिएको रोकायाले बताए ।
शनिवारराति नेपाल–भारत सीमा क्षेत्रमा नियमित गस्तीमा जाँदा सोही राति नै दुवै जनाको हत्या भएको थियो ।
मृतक साउँदको शरीरको अन्य भाग बालुवाले छोपिए पनि खुट्टा भने पानीभित्र देखिएको जनाइएको छ । खुट्टा देखिएको आधारमा शव फेला पारिएको हो ।
घटना भएको स्थानमा देखिएको दृश्य र फेला परेको प्रमाण अनुसार दुवै जनाको अन्यत्र हत्या गरेर नदीमा फालिएको प्रहरी निष्कर्ष छ । आपराधिक समूहले दुवै जना प्रहरीको हत्या नजिकको उखुबारीमा गरेको प्रहरी अनुमान छ ।
घटना भएको क्षेत्र तस्करीको ट्रान्जिट प्वाइन्ट मानिन्छ । नजिक रहेको भारतीय पारासरिया, सुडा, बनगटी बजारबाट विभिन्न सामान तस्करी हुँदै आएको छ । दुवै प्रहरीको तस्कर समूहले नै निर्ममतापूर्व हत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।

