
अमेरिकाको हालै सम्पन्न राष्ट्रपति निर्वाचनअन्तर्गत जोर्जिया राज्यको मत पुनः गणना गरिने भएको छ।
बीबीसीका अनुसार झिनो अन्तरले जो बाइडन अगाडि देखिएको जोर्जिया राज्यमा हातैले पुनः मत गणना गरिने भएको हो।
त्यहाँ वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र नवनिर्वाचित राष्ट्रपति बाइडनबीच करिब १४ हजार मतको अन्तर छ।
निकै कडा प्रतिस्पर्धा देखिएका कारण उक्त राज्यले गत हप्ता नै पुनः मतगणना गरिने जानकारी गराएको थियो।
हातले नै मत गन्न अनुरोध गरेको ट्रम्पको चुनावी अभियान सञ्चालक टोलीले यसलाई महत्त्वपूर्ण ‘पहिलो कदम’ भनेको छ।
रिपब्लिकन पार्टीका तर्फबाट जोर्जियामा चुनावी अभियानको नेतृत्व गरिरहेका डग कोलिन्सले सञ्चारकर्मीहरुलाई यो ‘निष्ठा’ र ‘पारदर्शिता’को जित भएको बताए।
अभियानका कानुनी परामर्शदाता स्टेफन पासान्टीओले प्रत्येक भोटको जाँच गरिने बताएका छन्। उनले त्यो गहन मत गणना राज्यले तोकेको अन्तिम मिति नोभेम्बर २० तारिखसम्ममा सकिने आशा गरिएको बताए।

पुनः मत गणना गरेपछि कसैले दोहोर्याएर वा अवैध मतदान भए नभएको पत्ता लाग्ने जोर्जियाका निर्वाचन अधिकृत ग्याब्रिएल स्टेरलिङले बताएका छन्।
पुनः मत गणना गर्ने विषयमा हरेक राज्यको आफ्नै नियम हुन्छ। तर सामान्यतया भोटलाई पुनः मिलान र स्क्यान गरिन्छ।केही स्थानमा विद्युतीय उपकरणको वैधता सुनिश्चित गर्न भोट हातले नै गन्ने गरिन्छ।
तर अहिलेम्मको अनुभवमा दोहोर्याएर मत गणना गर्दा पहिलेको नतिजामा खासै परिवर्तन भने भएको पाइन्न।
महत्त्वपूर्ण कुरा के पनि छ भने जोर्जिया राज्यमा बाइडेनले हार भने पनि उनीसँग राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक २७० भन्दा बढी नै इलेक्टोरल मत रहनेछ।
जोर्जियाले निर्वाचनको नतिजा प्रमाणीकरण गर्ने म्याद अनुसार नोभेम्बर २० तारिख भित्रै आफ्नो कार्य सक्काउनुपर्ने हुन्छ।
यसअघि ट्रम्पको टोलीले विस्कन्सिन राज्यमा पनि पुनः मतगणनाको माग गर्ने बताएको थियो।
कोलम्बिया युनिभर्सिटी ल स्कुलका प्राध्यापक रिचर्ड ब्रीफ्ल्टले सन् २०१६मा पनि विस्कन्सिनमा दोहोर्याएर मत गणना गरिएको र त्यसले केही सय भोटमा फरक पारेको बीबीसीले उल्लेख गरेको छ ।
राष्ट्रपति ट्रम्पले निर्वाचनमा हार मानेका छैनन् र कानुनी लडाइँ लड्ने बताइरहेका छन्।

