
पोखरा २ मंसिर । रेड बिल्ड लियोथ्रीक्स भनेर चिनिने ‘रोचिष्णु मिसिया’ चराहरु मरेका छन् । गाढा निलो पुच्छर, सुँड रातो, घाँटी सुनौलो र अगाडिको भाग पहेंलो, पछाडिबाट खैरो देखिने भँगेराभन्दा ठूलो ‘रोचिष्णु मिसिया’ चराहरु फेरि पस्र्याङ स्थित एक घरमा मरेका छन् । गत असोज ११ गते पनि सोही घरमा ११ वटा ‘चित्रकुट’ चरा मरेका थिए ।
पोखरा महानगरपालिका वडा नं. ५ पस्र्याङ स्थित जंगलतिर फर्किएकको उक्त घरको विचभागमा शिसा लगाइएको छ । विशेषगरी सहरी क्षेत्रहरुमा सेतो शिसाका भित्ताहरु तथा ठूला झ्यालहरुमा उडानको क्रममा बाटो सोझै देखि उड्दा त्यसैमा ठोक्किएर मर्ने गरेका घटनाहरु पछिल्लो समय धेरै देखिएका छन् ।

सामान्यतः १२२० मिटरदेखि २४४० मिटरसम्म पाइने यी चरा नेपालका रैथाने प्रजाति हुन्, तर जाडो लागेसँगै यिनीहरु माथिल्लो क्षेत्रदेखि तल्लो भूभाग ९१५ मिटरसम्म बसाई गरेको अनुसन्धानमा भेटिएको छ । बसाइ सर्ने धेरैजसो अल्पवयस्क हुने हुँदा बाटोको सही पहिचान तथा अप्ठ्यारो अवस्थामा कसरी पार गर्ने भन्ने जानकारी उनीहरुमा हुँदैन । त्यसैले सजिलै यिनीहरु दुर्घटनामा पर्न सक्छन ।
चराहरुको फोक्सो पखेटासँगै टाँसिएर रहने हुन्छ । जब यीनिहरू प्रत्यक्ष कुनै वस्तुमा ठोक्किन पुग्छन् यिनीहरुको फोक्सोमा असर पुगि श्वास प्रश्वास अवरुद्ध हुँदा केही मिनेटमा मर्ने गरेका अध्ययनले देखाएको छ र यिनीहरु समूहमै उड्ने भएकोले पनि संख्यामा धेरै एकै पटक मर्ने गरेको भेटिएको छ ।
शहरी क्षेत्रका अव्यवस्थित तार तथा हाइटेन्सन लाइन ठूला चराहरु गिद्ध, चिल एवम् कागहरु समेतलाई खतरा मानिन्छन् । यिनीहरु प्रत्यक्ष करेन्ट लागेर मर्ने वा तारमा ठोक्किएर घाइते हुन्छन् र पछि घाउहरु इन्फेक्सन भई मर्ने हुन्छन् । तर साना प्रजातिहरुमा यो केसहरु खासै नदेखिएको अध्ययन तथा अनुसन्धानमा भेटिएको छ ।
मरेका ८ वटा ‘रोचिष्णु मिसिया’ चराहरु मर्नुका कारण भने खुल्न बाँकी रहेको पोखरा पंक्षी समाजका अध्यक्ष मनशान्त घिमिरे बताए । तिहारको दोस्रो दिन आज पनि कार्यालयहरु बन्द रहेका कारण प्रयोगशालामा परीक्षण हुन बाँकी रहेको उनले बताएका छन् ।
शहरी क्षेत्रमा यस्ता साना चराहरु धेरै ठोक्किएर मर्ने गरेको उनले बताए । समग्रमा सानादेखि मझौला प्रजातिका चराहरु भँगेरा, अर्जुनक, कुथुर्केका प्रजातिहरु, रानीचरी, सारौं, चिवे जस्ता चराहरु झ्याल तथा डाइनिङका सिसाहरुमा ठोक्किएर मरेका घटनाहरु धेरै छन् ।
शहरी क्षेत्रहरूमा बढ्दो चराहरू ठोक्किएर मर्ने घटनाहरू बढेसँगै गत वर्षबाट नेपाल पंछी संरक्षण संघले फ्लाप क्यानडाको वार्षिक कार्यक्रम ‘ग्लोबल बर्ड रेस्क्यू’ मा सरिक हुँदै चरा ठोक्किएको स्थान अबस्था, प्रजाति, मरेको, घाइते, उद्दार र पुर्नस्थापना आदि लगाएतका तथ्यांकहरू राखेको छ ।
‘ग्लोबल बर्ड रेस्क्यू’ कार्यक्रममा काठमाण्डौ, बुटबल, नबलपुर, चितबनसँगै यस वर्षबाट पोखरा पंछी समाजले पोखरा र आसपासका क्षेत्रहरूको समेत तथ्यांक संकलन गरेको छ।
फोटोहरुः शेषकान्त शर्मा

