पाँच दशक पछि कालोटाउके बगेडी काठमाण्डौं उपत्यकामा

-


     मर्दी न्युज    
     मंसिर १७ गते २०७७ मा प्रकाशित


फोटोः संञ्जय था श्रेष्ठ

पोखरा । विरल हिउँदे आगन्तुक कालोटाउके बगेडी ५१ वर्ष पछि काठमाण्डौं उपत्यकामा पुनः अभिलेख भएको छ । सन् १९६९ मा उपत्यकामा भेटिए यता हाल सम्म यस प्रजातिको कुनै चहलपहल भेटिएको थिएन ।

नेपालकै लागि पहिलो पल्ट हरिशरण नेपाली “काजी” र रोबर्ट फ्लेमिङले उपत्यकाको बालाजुमा नमुना संकलन गरेको यो प्रजाति हिजो डिसेम्बर १ तारिखका दिन पंछी अबलोकनका क्रममा पर्यटन ब्यबसायी, पंछीविद तथा वन्यजन्तु फोटोग्राफर सञ्जय था श्रेष्ठ, शंकर तिवारी र भरत रेग्मीको टोलीले देखेका थिए ।

प्राय होचो भुभागहरुमा विशेष गरि कोशी क्षेत्रमा बढि मात्रामा देखिने यो प्रजाति हालका दिनहरुमा विरल हुँदै गएको अध्ययन अनुसन्धानबाट देखिएको छ । नेपालको संकटापन्न पंछी संम्बन्धि रातो किताबका अनुसार लामटाङ राष्ट्रिय निकुञ्जमा सन् २००१, चितवन राष्ट्रिय निकुञ्जमा सन् २००४, पर्सा राष्ट्रिय निकुञ्जमा सन् २०१२ मा अभिलेख भएको थियो ।

त्यसैगरि संरक्षित क्षेत्रबाहिर बढिमालिका क्षेत्रमा सन् २००३, लुम्बिनि क्षेत्रमा सन् २००६, पोखरा उपत्यकामा क्रमशः सन् २००५ र २००९ का साथै सन् २०१८ मा पोखरा उपत्यकाको खास्टे ताल क्षेत्रमा पंक्तिकारले भेटेका थिए ।

पंछी अबलोकनकर्ताको टिम

घाँसेमैदान/क्षेत्रहरुको ब्यापक दोहन, बसाइ सराइको रुटहरुमा अबैध चोरी शिकार, रेष्टुरेण्टहरुमा बगेडीको मासुको अबैध ब्यापार, बच्चा कोरल्ने स्थानमा आएको ब्यपाक परिवर्तनहरुले गर्दा यस प्रजातिको संख्या घट्दो क्रममा रहेको छ ।