देशभर कांग्रेसको शक्ति प्रदर्शन– सरकारविरूद्ध आक्रामक

-


     मर्दी न्युज    
     मंसिर २९ गते २०७७ मा प्रकाशित


पोखरामा भएको विरोध सभालाई सम्बोधन गर्दै कांग्रेस नेता अर्जुन नरसिंह केसी ।

पोखरा, २९ मंसिर । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससले सरकारविरुद्ध देशभर प्रदर्शन गरेको छ ।

विभिन्न जिल्लाका सभामा सम्बोधनका लागि खटिएका काँग्रेस नेताहरुले प्रधानमन्त्री ओलीकै संरक्षणमा भएका भ्रष्टाचार, कोरोना नियन्त्रणमा सरकारको असफलता, नेकपाको आन्तरिक द्वन्द्व र त्यसका कारण राजतन्त्रको पक्षमा सडकमा भएको प्रदर्शन लगायतका विषयमा आफ्ना भाषणहरु केन्द्रित गरेका थिए भने कांग्रेस नेताहरु ओलीप्रति नै बढि आक्रोश व्यक्त गरेका थिए।

हेटौँडामा आयोजित सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले ओली सरकारबाट आजित भएका जनता ‘राजा आऊ देश बचाऊ’ जस्ता नारा लगाउन थालेको भन्दै भाषणको बढि समय प्रधानमन्त्री ओलीको आलोचनामा खर्चेका थिए।

कोरोना महामारीका बेला कम्युनिष्ट सरकारले केही नगरेपछि मानिसहरु विकल्पको रुपमा ‘राजा आऊ देश बचाऊ’ भन्न थालेको उनको भनाइ थियो ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘यो सरकार कुन स्तरको भ्रष्टाचारी हो भन्ने कुरा नेपाल कम्युनिष्ट पार्टीकै स्थायी कमिटीको बहुमतले भनेको’ भन्दै भ्रटाचारविरुद्धको अन्तर्राष्ट्रिय संस्था ट्रान्स्परेन्सी इन्टरनेशनलले त तथ्यसहित एसियाकै भ्रष्ट भनेर रिपोर्ट नै सार्वजनिक गरिसकेको बताए ।

“यो सरकारलाई भ्रष्ट भनेर हामीले मात्र भनेका होइनौँ, ट्रान्परेन्सी इन्टरनेशनलले एसियाकै भ्रष्ट भनेर रिपोर्ट सार्वजनिक गरेको छ,” पौडेलले भने, “ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्ट मान्दिन भनेको सरकारलाई सत्तारुढ नेकपाकै स्थायी कमिटीको बहुमतले भ्रष्ट भनिसकेको छ ।”

पोखरामा भएको सभालाई सम्बोधन गर्दै कांग्रेस नेता अर्जुन नरसिंह केसीले सरकार दिनप्रतिदिन भ्रष्ट हुँदै गएको बताए । ‘अहिले नेकपाका दुई अध्यक्षले एकअर्कालाई विरोध गर्दै पत्र ल्याउनु भएको छ, त्यो धेरै कसले खाने भनेर ल्याइएको हो,’ नेता केसीले भने, ‘कम्युनिष्टहरुले लोकतन्त्रको रक्षा र भलो कहिल्यै चाहँदैनन् ।’

नेता केसीले देशभर कांग्रेसले सुरु गरेको प्रदर्शन नरोकिने बताउँदै नेपाली कांग्रेसले अबको संघर्ष कम्युनिष्टको विरुद्धमा चौंथो प्रदर्शन भएको बताए । ‘हामीले तीन पटक संघर्ष गर्यौं, राणा शासन हटाउन, पञ्चायत हटाउन र गणतन्त्र ल्याउन, अब हामी कम्युनिष्टका विरुद्ध लड्छौं’ उनले भने ।

देशभर गरिएको बिरोधसभालाई सम्बोधन गर्न कांग्रेसका उपसभापति विमलेन्द्र निधि भक्तपुरमा, डा. रामशरण महत चितवन, महामन्त्री शशांक कोइराला मोरङ, डा. प्रकाशशरण महत झापा, विश्वप्रकाश शर्मा हेटौंडामा पुगेका थिए।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई मंसिर १७ गते तनहुँमा पुल उद्घाटन गर्न जाँदा दुर्व्यवहार गरेपछि र कोरोना नियन्त्रणमा सरकार नै भ्रष्ट बनेको भन्दै कांग्रेसले देशव्यापी विरोध प्रदर्शन गर्न आह्वान गरिएको थियो ।