
पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपालको १८ औं साधारण सभा आइतबार भर्चुअलमार्फत सम्पन्न भएको छ ।
सल्लाहकार एवम् पूर्व अध्यक्ष झम तमुको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा यू के, अमेरिका र अष्ट्रेलियाका सदस्य र अक्षयकोष दाताहरुको पनि सहभागिता रहेको थियो ।
कार्यक्रममा सचिव भेषबहादुर तमुले संस्थाको साङ्गठनिक प्रगति प्रतिबेदन र कोषाध्यक्ष कौशिला तमुले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कोभिड १९ का कारण भर्चुअल सभा आयोजना गरिएको बताउँदै प्रमुख अतिथि झम तमुले संस्थाको स्थापना कालमा गरिएको संघर्षको स्मरण गर्दै हाल आएर संस्थाको लोकप्रियता र विश्वसनीयता बढ्दै गएकोमा खुशी व्यक्त गरेका थिए ।
गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. गणेशमान गुरुङले प्रतिष्ठानको शिक्षामा केन्द्रित कार्यक्रमको प्रसंशा गरे । त्यसै गरी तमु धि यू के का अध्यक्ष नन्दजंग तमुले प्रतिष्ठानलाई सधैभरी तमु धि यूकेको साथ र सहयोग रहिरहने बताए । संस्थापक उपाध्यक्ष दुर्गा तमु, संस्थापक सदस्य सोम तमु (अमेरिका), अक्षयकोष दाता सूर्य तमु (यू के), अक्षयकोष दाता भिमकजी तमु (यू के), गण्डकी प्रदेश अर्थमन्त्रालयका निजी सचिव तेज बहदुर तमु (च्हाक्ली),ले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
विभिन्न दाताहरुको अक्षयकोष रकमबाट करिब १७ जिल्लाका १४० गरिब तथा जेहेन्दार तमु विद्यार्थीहरुलाई यस संस्थाले वार्षिक रुपमा छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । त्यसै गरी संस्थाले उच्चशिक्षाको लागि २ जना विद्यार्थीलाई विज्ञान र इन्जिनियरिङ विषयको अध्ययनमा दाताको सहयोगबाट अध्यापन गराइ रहेकोछ । तमु भाषामा योगदान दिएका, सामाजिक क्षेत्रमा योगदान पुर्याएका, वरिष्ठ तमु चलचित्रकर्मी उनीहरुको योगदान अनुसार संस्थाले सम्मान गर्दै आइरहेको छ ।
प्रथम उपाध्यक्ष श्रीजङ्ग तमुको अध्यक्षतामा सम्पन्न यस कार्यक्रम सचिव भेषबहादुर तमुले सञ्चालन गरेका थिए ।

