संसद् विघटन बदरको माग गर्दै प्रधानमन्त्री, राष्ट्रपति र सभामुखविरुद्ध सर्वोच्चमा रिट दर्ता

-


     मर्दी न्युज    
     पुस ७ गते २०७७ मा प्रकाशित


काठमाडौं । सत्तारुढ दल नेकपाकै प्रतिनिधिसभाका सांसदहरु संसद् विघटनको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।

नेकपाका सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले मंगलबार दिउँसो सर्वोच्च अदालतमा रिट पेश गरेका हुन् । रिटमा प्रधानमन्त्री केपी ओली, राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख अग्‍निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ । 

“प्रधानमन्त्रीले गरेको संसद् विघटन र निर्वाचनको मिति सिफारिस र सो सिफारिसका आधारमा राष्ट्रपतिबाट गरेको संसद् विघटनको निर्णयबाट हामी निवेदक पाँच वर्षसम्म प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएका छौं,” रिटमा भनिएको छ, “अतः मिति २०७७ पुस ५ मा प्रधानमन्त्रीले गरेको सिफारिस र सो सिफारिसका आधारमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनसम्बन्धी सम्पूर्ण काम-कारबाही र सो सिफारिसका आधारमा भए गरेका सम्पूर्ण कार्यहरु नेपालको संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम उत्प्रेषणको आदेशबाट बदर गरी प्रतिनिधिसभाले गर्नुपर्ने कामहरु सम्पन्न गर्न आवश्यक र उपयुक्त आदेश जारी होस् ।”