
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले दुई अंकको सिट ल्याएर देखाउन दाहाल-नेपाल समुहको नेकपालाई चुनौती दिएका छन् । आफू पक्षीय काठमाडौँ जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले दाहाल–नेपाललाई खिया लागेको नटबल्टुको संज्ञा समेत दिए ।
प्रचण्ड–माधव नेपालतर्फ लक्षित गर्दै उनले वैशाख १७ र २७ गते कता बहुमत छ र कसले कसलाई पार्टीबाट निकालेको रहेछ हेरौँला भन्दै चुनौती दिएका छन् ।
यस्तै ओलीले सूर्य चिन्ह र नेकपा आफ्नै नेतृत्वमा रहने बताए । ओलीले भने– ‘हाम्रो अदालतले चार्ली च्याप्लिन चिन्न गल्ति गर्दैन । निर्वाचन आयोगले गल्ति गर्दैन । जुँगा हेरेर चिन्छ,जेल लगाएको कपाल हेरेर चिन्छ, कुम हल्लाएको देखेर चिन्छ चार्ली च्याप्लिन को हो भनेर । सूर्य चिन्ह हामीसँग हुन्छ,पार्टी हाम्रो हो ।’
ओलीले प्रचण्ड–माधव नेपाल खेमा पदको पछाडि दौडिरहेको आरोप लगाएका छन् । उनले पद चाहिएको भए पार्टी बैठकमा आउन समेत अनुरोध गरे । ‘उहाँहरुलाई पद चाहिएको छ । पद चाहिएको भए पार्टी बैठकमा आउनुपर्ने हो’, प्रचण्ड–नेपाललाई व्यङ्ग्य गर्दै ओलीले भने, ‘सुन्तला खान सुन्तला घारीमा जानुपर्छ, सल्लाघारी जाने ?’
ओलीले प्रचण्ड–नेपाल समूहले आन्दोलनको घोषणा गरेको आफूलाई जानकारी रहेको बताउँदै त्यो आन्दोलनको औचित्य नभएको समेत बताए ।

