गायक बद्री केसीले गरे आत्महत्या : शुक्रबार फेसबुकमा साथी, परिवार र संसारलाई ‘गुडबाई’ लेखेका थिए

-


     मर्दी न्युज    
     पुस २६ गते २०७७ मा प्रकाशित


लण्डन, २६ पुस । करिब डेढ दशकदेखि बेलायतको लण्डनमा बस्दै आएका गायक बद्री केसी मृत भेटिएका छन् ।

शुक्रवार उपराह्न ४ बजे आफ्नो फेसबुकमा आफ्ना साथी, परिवार र संसारलाई गुडबाई लेखेका केसी आफ्नो कार्यस्थलको हातामा रहेको रुखमा झुण्डिको अवस्था भेटिएको समाजसेवी एवं पाल्पा समाज युकेका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिए ।

पोखरा स्थायी घर भएका ३२ वर्षीय केसी अध्ययनका क्रममा बेलायत आएको थियो । केही वर्षअघि नेपाल नै बस्ने गरी आएका उनी पुनः बेलायत फर्किएका थिए । लण्डनको मिलहिल स्कूलको क्याटरिङमा काम गर्दै आएका उनी लण्डनको चिरपरिचित गायक हुन् ।

उनी पाँच वर्ष अल्टरसटको नीरमाया दोहोरी साँझमा दोहोरी गायकका रूपमा काम गर्थे भने पछि लण्डन सरेर स्कूलमा काम गर्दै आएका थिए । आत्महत्याको कारण अझै खुल्न सकेको छैन भने घटनाबारे लण्डन प्रहरीले अनुसन्धान थालेको छ ।