
काठमाडौं । भारतीय विदेश मन्त्रालयले आजदेखि नेपालसहितका छिमेकी देशहरुलाई कोरोनाभाइरस विरुद्धको खोप उपलब्ध गराउने बताएको छ ।
भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार जनवरी २० तारिख (आज बुधवार) देखि आफ्ना छिमेकी देश नेपालसहित भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमारलगायतका राष्ट्रहरुलाई कोरोना खोप पठाउन थालिने भएको हो। आज मालदिभ्समा खोप पठाइने र अन्य मुलुकमा पनि क्रमशः वितरण गरिने भारतको विदेश मन्त्रालयले जनाएको छ।
मन्त्रालयले अनुदानमा खोप वितरण गर्ने बताए पनि परिमाण भने खुलाएको छैन । तर, कतिपय भारतीय मिडियाले चाहिँ छिमेकी मुलुकलाई १ करोड डोज उपलब्ध गराउन लागेको उल्लेख गरेका छन् ।
नेपालले भने ६० लाख जनसंख्याको लागि कोभिसिल्ड भ्याक्सिनको माग गरेको छ । भारतले यसअघि त्यहाँ निर्मित कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ । छिमेकी देशहरुलाई अनुदान दिँदा पनि भारतमा पर्याप्त मात्रामा खोप उपलब्ध हुने त्यहाँको सरकारले जनाएको छ ।

