
विश्वको महाशक्ती राष्ट्र अमेरिकाको बागडोर आजदेखि जो वाइडेनले सम्हाल्दै छन् भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आज चार वर्षे कार्यकाल पुरा भई ह्वाइटहाउसबाट बिदा हुँदै छन् ।
ट्रम्पले बिदाइको सम्बोधन गर्दै भिडियोमार्फत नयाँ प्रशासनलाई जिम्मेवारी सुम्पिने बताएका छन् ।
एक भिडियो सन्देशमा उनले भनेका छन्, ‘म बुधवार नयाँ प्रशासनलाई सत्ता सुम्पिँदै छु, तपाईँहरूले बुझ्नुहोस्, हामीले थालेको आन्दोलन बल्ल सुरु हुँदै छ ।’
ट्रम्प विदाईसँगै आज नयाँ कार्यकालका लागि नव निर्वाचित राष्ट्रपति जो बाइडनले शपथ ग्रहण गर्ने कार्यक्रम पनि रहेको छ । आज देखि अमेरिकाको नयाँ राष्ट्रपतिको रूपमा जो बाइडेनले पदभार ग्रहण गर्नेछन् । ट्रम्पले बाइडनलाई सत्ता हस्तान्तरण गर्ने छन् ।
७८ वर्षीय जो बाइडेन अमेरिकाको ४६औं राष्ट्रपतिका रूपमा शपथ ग्रहण गर्दैछन् । उनी पेनसिल्भेनिया राज्यमा सन् १९४२ नोभेम्बर २० मा जन्मिएका अमेरिकाको सबैभन्दा ज्येष्ठ राष्ट्रपति बन्न लागेका हुन्।
सन् १९७२ मा पहिलोपटक सिनेटमा निर्वाचित बाइडेनले त्यसपछि लगातार ६ पटकसम्म सिनेटरको रुपमा काम गरेका थिए। सिनेटमा उनले ३६ वर्ष बिताए।
सन् १९८८ मा र दोस्रोपटक सन् २००८ मा बाइडेनले डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपतिको लागि उम्मेद्वारी पेश गरेका थिए। तर दुवैपटक उनी उम्मेदवार भने बन्न सकेनन्।
यद्यपी सन् २००८ मा बाराक ओबामाको पालामा उनी उपराष्ट्रपति बने। दोस्रो कार्यकालका लागि पनि ओबामाले उनलाई उपराष्ट्रपतिको भूमिका प्रदान गरेका थिए। एजेन्सी

