
काठमाडौं । नेपाली कांग्रेसले फरक मत राख्न तथा आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु सबैको नैसर्गिक अधिकार भएको जनाएको छ ।
कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले आज विज्ञप्ति जारी गर्दै फरक मत, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु हर कोहीको नैसर्गिक अधिकार भएको जनाएको हो ।
‘प्रधानमन्त्रीका पछिल्ला कयौं अभिव्यक्तिले प्रधानमन्त्री पदको गरिमालाई धुलिसात् बनाउँदै लगेका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो कदम विरुद्ध उठेका स्वर र समुदाय हरेकलाई होच्याउने र अपमान गर्ने कर्ममार्फत उहाँले तिनको भन्दा बढी आफ्नै मर्यादित जिम्मेवारीको अमर्यादित ढंगले अपमान गरिरहनुभएको छ। उहाँको यो प्रवृत्ति दुःखद मात्रै होईन, लज्जास्पद पनि छ।’
प्रतिनिधिसभा विघटनविरुद्ध उठेका विरोधका स्वरलाई देश विरोधी, देशद्रोही भनेर लान्छित नगर्न र समाजको कुनै पनि वर्ग, पेशा, समुदायलाई लान्छित र अपमानित गर्ने ढङ्गले अभिव्यक्ति नदिन काँग्रेसले ओलीलाई चेतावनी दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला केही दिनयता दिएका सार्वजनिक अभिव्यक्तिप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको हो।


