चार पूर्व प्रधानन्यायाधीशविरुद्ध पनि अवहेलना मुद्दा दर्ता

-


     मर्दी न्युज    
     माघ १४ गते २०७७ मा प्रकाशित


काठमाडौं । चार पूर्व प्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ। अधिवक्ताहरु लोचन भट्टराई र धनजित बस्नेतले बुधबार छुट्टाछुट्टै निवेदन दर्ता गराएका हुन् ।

उनीहरूले निवेदनमा अदालतमा विचाराधीन विषयमा प्रतिक्रिया दिएर चार पूर्व प्रधानन्यायाधीशले अदालतको अवहेलना गरेको दाबी गरेका छन् ।

पूर्व प्रधानन्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध बुधबार सर्वोच्चमा मुद्दा दर्ता भएको हो ।

पूर्व प्रधानन्यायाधीश रहिसकेका व्यक्तिले प्रेस विज्ञप्ति जारी गरी दिएको अभिव्यक्तिले सर्वोच्च अदालतले गरेका निर्णय, फैसलाहरु सबै आफ्नो निहित स्वार्थ अनुकुल हुनु पर्ने, अनुकूल भएको खण्डमा स्वागत गर्ने र अनुकूल नभएको खण्डमा तुरुन्त नकारात्मक धारणा, खण्डन र आलोचना गर्ने र गर्न मिल्ने रहेछ भन्ने कुरालाई लक्षित र प्रमाणित गरेको आरोप रिटमा लगाइएको छ।

उक्त रिटमाथि सर्वोच्चले बिहीबार पेसी तोकेको छ।