बन्दको विकल्प खोज्न पोखरा पर्यटन परिषद्को आग्रह

-


     मर्दी न्युज    
     माघ २२ गते २०७७ मा प्रकाशित


पोखरा । पोखराका पर्यटन व्यवसायीहरुको छाता संगठन पोखरा पर्यटन परिषद्ले कोरोना महामारीका कारण संकटको अवस्था भोगिरहेको पर्यटन क्षेत्रमा फेरी बन्द हड्तालले थप जोखिम ल्याउने जनाउँदै कुनै पनि समूह वा राजनीतिक दलहरुलाई कुनै पनि बहानामा बन्द हड्ताल जस्ता गतिविधि नगर्न आग्रह गरेको छ ।

कोरोनाका कारण मुलुकले ठूलो आर्थिक क्षति भोगिरहेको वर्तमान अवस्थामा फेरि राजनीतिक अस्थिरता र बन्द हड्ताल जस्ता गतिविधिले थप जोखिम पार्ने उल्लेख गर्दै आन्दोलनको विकल्प खोजेर व्यवसायी मैत्री वातावरण सृजना गर्न विज्ञप्ति मार्फत राजनीतिक दलहरुलाई आग्रह गरिएको हो ।

‘बन्द हड्तालका कारण प्रत्येक क्षेत्रका उद्यमी व्यवसायी र विषेश गरी दैनिक ज्यालादारीमा गुजारा चलाउने सर्वसाधारणलाई सबैभन्दा बढी असर परेको छ । तसर्थ बन्द हड्ताल चक्काजाम लगायतका गतिविधि रोक्न परिषद् हार्दिक अपिल गर्दछ ।’- परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

राजनीतिक दलहरुले देशको अर्थतन्त्र र सहज जीवयापनमा भूमिका खेल्दै नागरिक मैत्री, व्यवसायी मैत्री वातावरण सृजना गरेर अर्थतन्त्रमा सकारात्मक भूमिका खेल्नुपर्नेमा कोभिड–१९ को महामारीका बीच विभिन्न खाले आन्दोलन, बन्द हड्तालले सम्पूर्ण सर्वसाधारण एवम् व्यवसायीलाई थप निराश बनाउँदै लगेको विज्ञप्तिमा उल्लेख छ ।

कोभिड –१९ का बीच पनि चलायमान बन्दै गएको पर्यटन क्षेत्र बन्द हड्ताल र विभिन्न आन्दोलनले थप नकारात्मक सन्देश जाने भएकाले यस विषयमा राजनीतिक दलहरुलाई गम्भिर रुपमा सोच्नसमेत आग्रह गरिएको छ ।

परिषद्ले विदेशी पर्यटकलाई सात दिनबाट बढाएर १० दिन क्वारेन्टिनमा राख्ने नियमको पनि विरोध गरेको छ ।