
पोखरा, २४ माघ । फेवातालको पानी रोक्ने मुख्य बाँध चारदशकपछि मर्मतसम्भार गर्न थालिएको छ । लामो समयदेखि बाँध (ड्याम) मर्मत नहुँदा पानीको चुहावट बढेको थियो । ड्याम मर्मत गर्नका लागि शुक्रवार साँझ ९ बजेदेखि तालको पानी खोलिएको छ ।
जलश्रोत तथा सिंचाई विकास डिभिजन कास्कीका प्रमुख इन्जिनियर किरण आचार्यका अनुसार चार दशकपछि शुक्रवारदेखि ड्याम मर्मत गर्न थालिएको छ । त्यसका लागि तालको पानी घटाइएको हो । यसअघि सामान्य रुपमा मात्र मर्मत गरिएको उनले जनाए ।

आचार्यका अनुसार ड्यामको ४ वटै गेटको रबरसिल पनि फेरिनेछ । उनका अनुसार रबर सिल पुरै बिग्रेकोले पानीको चुहावट बढ्दै गएको थियो ।
अपरेटर मनबहादुर थापा मगरका अनुसार २०५० सालयता यसको मर्मत भएको थिएन । उनले पानीको सतह २ मीटरभन्दा बढी घटाउने जनाए ।

पानी सतह घटाएपछि तालको जलाशय क्षेत्र खालि भएको छ । फेवातालको पानी घटाउँदा डुंगा व्यवसायी भने प्रभावित भएका छन् ।
फेवातालको बीचमा रहेको ताल बाराही मन्दिर जान डुंगा चढ्नेहरु यतिखेर हिलो हुँदै आउजाउ गर्नुपरेको छ ।

पानी कम भएको मौका पारेर स्थानीयले भने नहर क्षेत्रमा शनिवार माछा मारिरहेका थिए ।
२०१८ माघ ३ गते भारत सरकारको सहयोगमा बनेको बाँध २०३१ पुस ११ गते भत्केको थियो । त्यसपछि संयुक्त राष्ट्रसंघको सहयोगमा २०३४ मा पहिलेको भन्दा केही तल बाँध पुनर्निर्माण शुरु गरिएको थियो ।

तालको पानीबाट ३ सय २० हेक्टर जमिनमा सिँचाइ हुँदै आएको थियो । त्यो नहरसमेत पूरै जीर्ण बन्दै गएको छ । तालको पानी लगेर १ मेगावाटको फेवा जलविद्युत् आयोजना पनि सञ्चालनमा छ । ताल, सिँचाइ र जलविद्युत् उत्पादन गर्ने उद्देश्यसहित बाँध बनाइएको थियो ।


