
तस्विरहरुः खेम गुरुङ
पोखरा । हिउँदमा विश्वको दोस्रो सर्वोच्च शिखर ‘माउन्ट केटु’को सफल आरोहण गर्ने १० कीर्तिमानी पर्वतारोहीको टोलीलाई सोमबार पोखरामा नागरिक अभिनन्दन गरिएको छ । पोखराका पर्यटन व्यवसायीको साझा संस्था पोखरा पर्यटन परिषद्को आयोजनामा आरोहीहरूलाई अभिनन्दन पत्रद्वारा सम्मान गरिएको हो ।
हिउँदे सिजनमा माउन्ट केटुको सफल आरोहण गरेर विश्वसामु नेपालको चिनारी र पहिचानलाई थप उँचो बनाउने प्रशंसनीय काम भएको बताउँदै कार्यक्रमका वक्ताहरुले उनीहरुलाई बधाई दिए ।

‘विश्वमाझ नेपाललाई थप चिनाउन सफल आरोहीलाई पर्यटकीय नगरी महानगर पोखरामा स्वागत गर्न पाउनु निकै खुसीको कुरा भएको कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका मेयर मानबहादुर जिसीले बताए ।
अभिनन्दन कार्यक्रमका संयोजक ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चलका अध्यक्ष सुशीलराज पौडेलले निकै चुनौतीपूर्ण रहेको केटु हिमालको सफल आरोहीहरुलाई सम्मान गर्न पाउँदा गर्व लागेको बताउँदै नेपालको नामलाई विश्वमा चिनाउन सफल भएको आरोहीहरुलाई सम्मान गर्न गण्डकी प्रदेश पछि हट्न नहुने बताए ।
कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल, नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतम, पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, प्यासिफिक एसिया ट्राभल एशोसियशन (पाटा) का महासचिव सुमन पाण्डेलगायतले साहसिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै शुभकामना दिएका थिए ।
पाकिस्तानमा रहेको केटु हिमाल (८६११ मिटर) निर्मल पूर्जासहित नेपालका १० जना पर्वतारोहीले माघ ३ गते शनिवार आरोहरण गरेर इतिहास रचेका थिए । उक्त हिमालमा यसअघि हिउँदको समयमा कोही आरोही पुग्न सकेको थिएनन् ।
सोही कार्यक्रममा धम्पुस पिकका आरोहीहरुलाई पनि सम्मान गरिएको थियो ।


