
काठमाडौँ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ ।
भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने भट्टको प्रकरणमा संलग्नता पुष्टि भएपछि उनलाई प्रहरीले सार्वजनिक गरेको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले जिल्ला प्रहरी कार्यालय, बैतडीमा आयोजित पत्रकार सम्मेलनमा प्राप्त प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी साक्षी, साबिती बयान लगायतका आधारमा भट्टलाई पक्राउ गरिएको उनले बताए ।
भट्टले प्रहरीसँग दिएको बयानमा बदला लीन भागरथीको हत्या गरेको बताएका छन् । भागरथीको बुबाले आफ्नी फूपूलाई दुर्व्यवहार गरेकाले आफूले हत्या गरेको उनले बताएको प्रहरीले जनाएको छ ।
२१ माघमा सनातन माध्यमिक विद्यालयमा पढ्न गएकी भट्ट साँझसम्म घर नफर्किएपछि परिवारले खोजी थालेको थियो, भोलिपल्ट अपराह्न उनको शव सडकबाट ५० मिटर तल झाडीमा भेटिएको थियो ।

