जापानमा बुधबार १४४५ जनामा संक्रमण, ७९ जनाको मृत्यु, कोरोनाविरूद्धको खोप शुरू

-


     मर्दी न्युज    
     फागुन ५ गते २०७७ मा प्रकाशित


सन थापा
जापान, ५ फागुन । जापानमा बुधबार १ हजार ४ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि हुनुका साथै ७९ जनाको मृत्यु भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको संख्या ४ लाख २१ हजार २ सय नौजना पुगेको छ । डायमण्ड प्रिन्सेस क्रूजका १३ जना सहित ७ हजार २ सय ३६ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ । त्यस्तै डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित ३ लाख ९१ हजार ८ सय ६७ जना निको भएका छन् ।

संक्रमितमध्ये २० हजार ३ सय ३१ जनाको उपचार भइरहेको छ भने ६ सय सात जनाको अवस्था गम्भीर रहेको छ ।

यसैबिच कोरोना विरूद्धको खोप अभियानको पहिलोचरण शुरू भएको छ । टोकियो मेडिकल सेन्टरका निर्देशक काजुहिरो आराकीले पहिलो खोप लगाएर अभियानको शुरूवात भएको हो । १ सय अस्पतालबाट ४० हजार स्वास्थ्यकर्मीलाई खोप लगाईने स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोपको दोस्रो डोज लगाई सकेपछि त्यसको प्रभावकारीता बारे तीन हप्तासम्म अध्ययन गरिने स्वास्थ्य अधिकारीहरूले बताएका छन् । अध्ययनपश्चात् मार्चबाट ३७ लाख स्वास्थ्यकर्मीलाई र अप्रिलबाट ६५ वर्षदेखि माथिको उमेरका ३ करोड ६० लाख नागरिकलाई खोप लगाईने जनाईएको छ । जापानले अमेरिकी औषधी कम्पनी फाईजरले उत्पादन गरेको कोरोना विरूद्धको खोपलाई मात्र स्वीकृत गरेको छ ।