प्रतिनिधिसभा विघटनविरुद्ध रिटमाथिको बहस सकियो

-


     मर्दी न्युज    
     फागुन ७ गते २०७७ मा प्रकाशित


काठमाडौं । दुई महिनादेखि जारी प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दामाथिको बहस सकिएको छ । एमिकस क्युरीका तर्फबाट शुक्रबार वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले आफ्नो राय राखेपछि बहस सकिएको हो।  

यसअघि एमिकस क्यूरीका तर्फबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्यले बहस गरेका थिए। 

यसैगरी फागुन १० गतेसम्म बहस नोट बुझाउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले माग गरेको छ। संवैधानिक इजलासको नेतृतव गरेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले रिटमा पक्ष, विपक्ष र एमिकस क्युरीमा चयन भएका कानुन व्यवसायीलाई १० गतेभित्र बहस नोट दिन आग्रह गरेका हुन्।

१० गतेसम्म बहस नोट आएपछि ११ गते फेरि संवैधानिक इजलास बस्नेछ ।

गत पुस ५ गते प्रधानामन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले प्रतिनिधिसभा विघटन सँग बैशाख १७ र २७ गते मध्यावधी निर्वाचनको घोषणा गरेकी थिइन् । प्रतिनिधिसभा विघटनको घोषणा लगतै संविधान विपरीत र लोकतन्त्र विपरीत रुपमा संसद विघटन भएको भन्दै सर्वोच्च अदालतमा १३ मुद्दा दर्ता भएका थिए ।

ती मुद्दामा संवैधानिक इजलासमा माघ ४ गतेदेखि निरन्तर सुनुवाइ भएको थियो । संसद विघटन असंवैधानिक भन्दै करिब साढे तीन सय बढी कानुन व्यवसायीले बहस गरेका छन्।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा  दुई खेमा भएको छ। एक समूहको नेतृत्व केपी ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले गरेका छन्। अहिलेसम्म दुईवटै समूहको आधिकारिकताको विषयमा आयोगले निर्णय गर्न सकेको छैन।