प्रधानमन्त्री ओलीले गरे प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास

-


     मर्दी न्युज    
     फागुन १७ गते २०७७ मा प्रकाशित


पोखरा, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा नदीपुरस्थित गण्डकी प्रदेश सभा रहेकै प्रांगणमा प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओलीले प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन आज सोमबार शिलान्यास गरेको हो ।

प्रधानमन्त्री ओलीले शिलान्यास गरेको प्रतिष्ठान भवनको लागत ३३ करोड २१ लाख ५५ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ भने भवन चारतले हुनेछ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले निर्माण कार्यान्वयन गर्ने छ । प्रदेश सरकारले डेढ करोड रुपैयाँ विनियोजन गरेको छ भने प्रदेश तथा स्थानीय सहयोग कार्यक्रमअन्तर्गत प्राप्त सशर्त अनुदान ५ करोड रुपैयाँ यो वर्ष भवनका लागि छुट्टयाइएको छ । बाँकी रकम अर्को वर्ष विनियोजन गर्ने गरी भवन निर्माणको शिलान्यास गरिएको हो ।

४ हजार ९ सय ६४ वर्गमिटर क्षेत्रफलमा बन्न लागेको भवनमा व्यवस्थित पार्किङ, मल्टिपल मिटिङ हल, क्लास रुम, डाइनिङ हलसहित ३३ कोठा हुने छन् । भवनको डिजाइन स्केल आर्किटेक्ट प्रालिले गरेको हो ।

प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारी एवं जनप्रतिनिधिको क्षमता विकास र कार्यसम्पादनमा सुधार, प्रदेश सरकारका कार्यक्रम कार्यान्वयनमा सहजीकरण गर्ने काम प्रतिष्ठानले गर्दै आएको छ ।

तत्कालीन नगर प्रशिक्षण केन्द्र भएकै ठाउँमा प्रदेश प्रशिक्षण प्रतिष्ठानको रुपमा विकास गरिएको हो । प्रदेश सरकारले प्रतिष्ठानको २०७५ फागुनमा ऐन बनाएको थियो त्यसको १ वर्षपछि ०७६ फागुन २८ गते प्रतिष्ठानको कार्यकारी निर्देशकमा ऋषिराम पाण्डेलाई नियुक्त गरिएको थियो । प्रदेश अन्तर्गतका सरकारी तथा अर्धसरकारी निकाय र स्थानीय तहको संस्थागत सुधार एवम् शासकीय क्षमताको अभिवृद्धि गर्ने अभिप्रायले प्रतिष्ठान स्थापना भएको हो ।