
काठमाडौं । नेपाल कम्युष्टि पार्टी (नेकपा) दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले सुवास नेम्बाङलाई स्थायी कमिटीबाट निलम्बन गर्ने भएको छ ।
आज बुधबार पेरिसडाँडामा बसेको केन्द्रीय कमिटीको बैठकले स्थायी समिति सदस्य सुवास नेम्वाङ, केन्द्रीय सदस्यहरु विशाल भट्टराई, महेश बस्नेत, शान्ता चौधरी, प्रभु साह, सूर्य थापा र कर्णबहादुर थापालाई कारबाही गर्ने निर्णय गरेको हो।
बैठकले उनीहरुलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको एक केन्द्रीय सदस्यले बताए।
त्यस्तै बैठकले सबै नेताहरुलाई पार्टीको पक्षमा फर्कन आग्रह गर्दै बिनापूर्वाग्रह जिम्मेवारी दिइने पनि निर्णय गरेको छ । पार्टीको आधिकारिकताबारे निर्वाचन आयोगले हालसम्म केही निर्णय नगरेकोमा पनि बैठकले दुस्ख व्यक्त गरेको छ ।
विभाजित नेकपाको ओली समूहले केहि दिनपहिले संसदीय दलको प्रमुख सचेतक रहेका देव गुरुङलाई हटाई विशाल भट्टराईलाई सो पदमा चयन गरेको थियो ।
यसअघि सो समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्काशन गर्ने निर्णय गरेको थियो । त्यसैगरी, महासचिवबाट विष्णु पौडेललाइ पनि हटाएको थियो।
पुस ५ गते प्रतिनिधि सभा विघटनसँगै प्रचण्ड–नेपाल र प्रधानमन्त्री ओली समूहले छुट्टाछुट्टै रूपमा राजनीतिक गतिविधि सञ्चालन गर्दै आएका छन् । दुवै दल कानुनी रूपमा भने अहिले पनि एकै छन् ।

