पर्यटनसँग सम्बन्धित ट्रेड युनियनद्वारा कोरोना विरुद्धको खोप उपलब्ध गराउन माग

-


     मर्दी न्युज    
     फागुन १९ गते २०७७ मा प्रकाशित


पोखरा । पर्यटन क्षेत्रसँग सम्बन्धित ट्रेड युनियनहरुले सरकारसँग कोरोना विरुद्धको खोप उपलब्ध गराउन माग गरेका छन ।

लामो समयदेखि ठप्प रहेको नेपालको पर्यटकीय गतिविधि वसन्त ऋतुको शुरुसँगै चलायमान हुने अपेक्षा गर्दै पर्यटन श्रमिकहरुलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन माग गरेको हो ।

बुधवार अखिल नेपाल पर्यटन मजदुर संघका महासचिव सन्तोष ढकाल, नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ (निटोग) का अध्यक्ष रामकाजी तिवारी (प्रयास), समाजवादी पर्यटन मजदुर संघका महासचिव सार्की शेर्पा, क्रान्तिकारी पर्यटन मजदुर संघ नेपालका कोषाध्यक्ष तुला राई र नेपाल पर्यटन श्रमिक संघका महासचिव निरज मिश्रले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै पर्यटकीय चहलपहलसंगै कोरोनाको फैलन सक्ने संभावित खतरालाई मध्यनजर गरी पर्यटन क्षेत्रका श्रमिकहरुलाई प्राथमिकताको आधारमा कोरोना विरुद्धको खोपको व्यवस्था गर्न अनुरोध गरेका छन् ।

‘नेपाल सरकारले पर्यटन क्षेत्रका श्रमिकहरुलाई प्राथमिकताको आधारमा कोरोनाविरुद्धको खोपको व्यवस्था गरेको छैन । पर्यटन क्षेत्रका श्रमिकहरुलाई प्राथमिकताको आधारमा कोरोना विरुद्धको खोपको व्यवस्था गर्न नसकेको खण्डमा आउदो वसन्त ऋतुमा हुने पर्यटकीय चहलपहलसंगै कोरोनाको फैलन सक्ने संभावित खतरालाई मध्यनजर गरी पर्यटन क्षेत्रका श्रमिकहरुलाई प्राथमिकताको आधारमा कोरोना विरुद्धको खोपको व्यवस्था गर्न, गराउन पर्यटन क्षेत्रमा क्रियाशिल तपसिलका ट्रेड युनियनहरु विनम्र अनुरोध गर्दछौ ।’ विज्ञप्तिमा भनिएको छ ।