एमालेको दशौँ महाधिवेशन आगामी मंसिर २ गतेदेखि

-


     मर्दी न्युज    
     फागुन २८ गते २०७७ मा प्रकाशित


काठमाडौँ, २८ फागुन । नेकपा (एमाले) को दशौँ महाधिवेशन आगामी २०७८ मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षको बैठकले पार्टीको दशौँ महाधिवेशनको मिति तय गरेको हो।

उक्त बैठकले माधवकुमार नेपाल पक्षका केही नेताहरुको जिम्मेवारी खोसेको छ । माधव नेपाल पक्षलाई जानकारी नदिई गरिएको बैठकले पूर्व माओवादीबाट आएका रामबहादुर थापासहित २३ जनालाई केन्द्रीय समितिमा मनोनयन गर्ने निर्णय समेत गरेको छ भने अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएको छ।

प्रधानमन्त्री ओलीले सातै प्रदेशका इन्चार्जको जिम्मेवारी समेत हेरफेर गरेका छन् । जिम्मेवारी हेरफेर क्रममा बागमती र सुदूरपश्चिम प्रदेशको नेतृत्व पूर्वमाओवादी केन्द्रबाट आएका नेताले पाएका छन् ।

बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापालाई इन्चार्जको जिम्मेवारी दिइएको छ भने भीम रावललाई हटाएर एमाले सूदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी लेखराज भट्टलाई दिइएको छ ।

त्यसैगरी प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदेश २ मा सत्यनाराण मण्डल, गण्डकीमा पृथ्वीसब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल र कर्णालीमा यमलाल कडेँल एमाले इन्चार्ज बनेका छन् ।