गण्डकी प्रदेश खेलकूद परिषद्को सदस्य सचिवमा गुरुङ नियुक्त

-


     मर्दी न्युज    
     चैत्र २ गते २०७७ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेश खेलकूद परिषद्को सदस्य सचिवमा कास्कीका तेजबहादुर गुरुङ नियुक्त भएको छ । गण्डकी प्रदेश मन्त्री परिषद्को आइतबार बसेको बैठकले गुरुङलाई सदस्य सचिवमा नियुक्ति गरेको हो ।

खुला प्रतिस्पर्धात्मक आह्वानअनुसार आवेदन गरेका गुरुङलाई प्रदेश मन्त्रिपरिषद्को बैठकले सदस्य सचिवमा नियुक्तिको निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

सदस्य सचिवको कार्यकाल चार वर्षको हुनेछ । सरकारले सदस्य सचिव छनोटका लागि खुला दर्खास्त आह्वान गरेको थियो ।

गण्डकी प्रदेश खेलकुद विकास ऐन २०७७ अनुसार सरकारले प्रदेश खेलकूद परिषद्को सदस्य सचिव चयन गर्न सामाजिक विकास मन्त्री नरदेवी पुन संयोजक रहेको ३ सदस्यीय समिति गठन गरेको थियो ।

समितिमा सामाजिक विकास मन्त्रालयका सचिव विनोदबहादुर कुँवर र खेलविज्ञ दिलबहादुर गुरुङ सदस्य थिए ।

पोखरा १६ अर्मलाकोटका स्थायी बासिन्दा तेज गुरुङ नेपाल ह्यान्डबल संघको केन्द्रीय अध्यक्ष र नेपाल ओलम्पिक कमिटीको उपाध्यक्ष छन् । उनी ह्यान्डबलका खेलाडी हुन् । २०३९ सालदेखि उनी ह्यान्डबलसँग जोडिएका थिए ।

उनी भूतपूर्व खेलाडी मञ्चमा सक्रिय हुँदै ह्यान्डबल र पोखरा म्याराथन प्रतियोगिताको आयोजनासहितका खेल गतिविधि प्रवर्धनमा क्रियाशील छन् । भूतपूर्व खेलाडी मञ्चमा उनी अध्यक्ष छन् ।