जापानमा आपतकाल हट्यो, आईतबार १११९ जना संक्रमित, १९ को मृत्यु

-


     मर्दी न्युज    
     चैत्र ८ गते २०७७ मा प्रकाशित


सन थापा,
जापान, ८ चैत । जापान सरकारले आईतबार मध्यरातबाट लागु हुने गरी टोकियो, खानागावा, साईतामा र चिबा प्रान्तमा आपतकाल हटाएको छ ।

प्रधानमन्त्री योशिहिदे सुगाले कोरोना संक्रमण ८० प्रतिशत भन्दा कमी आएको र आपतकालीन अवस्थाको अन्त्यका लागि मापदण्ड पूरा भएकोले आपतकाल हटाउने निर्णय गरेको बताए ।

आम नागरिकलाई कोरोना संक्रमण र गम्भीर बिरामी हुनबाट रोक्न खोप अभियानलाई जारी राखी चिकित्सा प्रणालीलाई सुदृढिकरण गरिने सुगाले बताए ।

त्यस्तै जापानमा पछिल्लो १ हजार १ सय १९ जना कोरोना संक्रमित थपिनुका साथै १९ जनाको मृत्यु भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको संख्या ४ लाख ५७ हजार ५ सय ७७ जना पुगेको छ ।

त्यस्तै प्रिन्सेस क्रूजका १३ जना सहित ८ हजार ८ सय ४९ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित हालसम्म ४ लाख ३३ हजार ८ सय आठजना कोरोना संक्रमित निको भएका छन् ।

संक्रमितमध्ये १३ हजार ३ सय दुई जनाको उपचार भइरहेको छ भने ३ सय ३४ जनाको अवस्था गम्भीर रहेको छ ।