शिक्षण संस्थामा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न शिक्षा मन्त्रालयको निर्देशन

-


     मर्दी न्युज    
     चैत्र १२ गते २०७७ मा प्रकाशित


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढ्न थालेको भन्दै जनस्वास्थ्यका मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बिहीबारको बैठकले शिक्षण संस्थाहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेका जनस्वास्थ्य र सुरक्षा सम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गर्न निर्देशन दिएको हो । मन्त्रालयले यसका साथै प्रदेश सरकार र स्थानीय तहबाट स्थान विशेषमा तय गरिएका थप मापदण्डको पालना गर्न र गराउन मन्त्रालयले अनुरोध गरेको छ ।

बैठकमा कोरोना संक्रमणबाट हुने जोखिमबारे शिक्षक तथा विद्यार्थीको स्वास्थ्य र शिक्षण संस्थाका क्रियाकलापमा पर्न सक्ने प्रतिकूल असरका विषयमा समीक्षा गरिएको मन्त्रालयले जनाएको छ।

‘सबै प्रकारका शिक्षण संस्थाहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेका जनस्वास्थ्य र सुरक्षासम्बन्धी मापदण्डका साथै प्रदेश सरकार र स्थानीय तहबाट स्थान विशेषमा तय गरिएका थप मापदण्डको पूर्ण रूपमा पालन गर्न, शिक्षण संस्थामा मास्क तथा स्यानिटाइजरको प्रयोग, साबुन–पानीले हात धुने, ज्वरो नाप्ने र कसैमा संक्रमणको लक्षण पाइएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने व्यवस्थालाई प्रभावकारी बनाउन अनुरोध गरिन्छ’, मन्त्रालयका प्रवक्ता दिपक शर्माद्वार जारी विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा शिक्षण संस्थामा मास्क तथा स्यानिटाइजरको प्रयोग, साबुन पानीले हात धुने, ज्वारो नाप्ने र व्यक्तिमा संक्रमणको लक्षण देखिए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुका साथै सभा, समारोह र वार्षिक उत्सवजस्ता भीडभाड हुने प्रकृतिका कार्यक्रमहरु तत्कालका लागि नगर्न र नगराउन समेत अनुरोध गरिएको छ।