
पोखरा । अखिल नेपाल पर्यटन मजदुर संघको आयोजना तथा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको आर्थिक सहकार्यमा यही चैत १० गतेदेखि पर्यटन प्रबर्द्धन तथा पुनरोत्थानको लागि निस्केको टोलिले सुन्दर गन्तव्य तारा हिलटपबाट आज बिहान सुर्योदय तथा मनोरम अन्नपूर्ण र मनाशलु हिमालको दृष्याबलोकन गरि मादी गाउँपालिका वडा नं १ सिकलेसमा आएर एक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ।
केहीवर्ष अगाडिसम्म निकै चर्चित र लोकप्रिय भुज्रुङ्गखोला–घलेखर्क – तारा हिलटप –सिकलेस पदमार्ग हालैका केही समयदेखि क्रमशः ओझेलमा परेको छ ।

जताततै अव्यवस्थित रूपमा खनिएका धुलाम्य सडकहरु, अत्यधिक रूपमा दोहन गरिएका तथा स्वरुप नै परिवर्तन गरिएका प्रसिद्ध सेती नदी र सहायक खोलानाला, हाइड्रोपावर र नदीजन्य पदार्थको अत्यधिक उत्खनन गरेर कुरुप बनाइएको मादी नदीका कारण प्रायःजसो विदेशी ट्राभल एजेन्ट्सहरुले यो पदमार्गलाई आफ्नो नियमित गन्तव्य सुचीबाट हटाइसकेका छन।
बेलायत, अमेरिकालगायतका विशेष गरि क्याम्पिङ ट्रेक मन पराउने देशमा पनि नयाँ पुस्ताका पर्यटकहरु होटल÷लज÷ होमस्टेमा नै बस्न रुचाउँछन र आर्थिक रूपमा पनि यो सस्तो पर्न जान्छ।
नेपालमा परम्परागत पदमार्गहरु नासिदै मासिदै गइरहेको अवस्थामा पोखराको नजिकै रहेको यो सुन्दर गन्तव्य तीनदेखि पाँचदिनसम्मको पदयात्राको लागि अत्यन्तै उपयुक्त हुनसक्ने देखिन्छ । माथि उल्लेखित कारण बस साबिक बमोजिम आठ वा दस दिनको प्याकेज बेच्न नसकेपनि भुज्रुङ्गखोला– सिकलेस सम्मको भागले आफ्नो मौलिकता र साख जोगाएको देखिन्छ ।
मुख्य समस्या भनेको नै तारा हिलटप (२८००मि) मा खाने तथा सुत्ने आवासको व्यवस्था र खानेपानीको अभाव नै हो । तारा हिलटप माछापुच्छ्रे गाउँपालिका वडा नं २ र मादी गाउँपालिका वडा नं १ को सिमानामा रहेको, सरकारी स्वामित्वमा रहेतापनि उपयोगका हिसाबले विवादित स्थान समेत बनेको छ ।

अन्तरक्रियामा भाग लिनुभएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ,सिकलेस कार्यालयका प्रमुख उत्सब न्यौपानेले दिगो ब्यबस्थापनसहित तारा हिलटपको विकाश हुनुपर्नेमा जोड दिनुभयो।
त्यस्तै संरक्षण ब्यबस्थापन समितिका अध्यक्ष गेहेन्द्र गुरुङले घलेखर्क र सिकलेसका सरोकारवाला मिलेर नै उचित निष्कर्षमा पुगिने बताउनुभयो । भ्रमण टोलि आज नै पोखरा आइपुगेको र अखिल नेपाल ट्रेड युनियन महासंघ, पृथ्वीचोकमा एक विशेष कार्यक्रम गरि समापन गरिएको अखिल नेपाल पर्यटन मजदुर संघ, कास्की जिल्ला अध्यक्ष धन बहादुर तामाङले बताउनुभयो।

