
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेशसभामा पेस भएको अविश्वास प्रस्तावमाथि आजै मतदान हुने भएको छ ।
बोल्ने सांसदहरुको संख्या घटाएर आजै बेलुकीसम्म मतदान गर्ने कार्यसूची टाँसिएको छ ।
कार्यसूची अनुसार नेपाली कांग्रेसका एक, नेकपा (माओवादी केन्द्र)का एक र नेकपा (एमाले)का १८ सांसदले बोल्ने तयारी छ । जनमोर्चाका दुई र जनता समाजवादी पार्टी (जसपा)का एकजनाले बोल्न नाम दर्ता गराएका छन् । अन्तिममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकलाई सम्बोधन गर्नेछन् । प्रस्ताव सम्बन्धमा छलफल भई मुख्यमन्त्रीले जवाफ दिएपछि सो प्रस्तावमाथि निर्णय गरिने कार्यसूची छ ।
मङ्गलबारको बैठकमा नेकपा (एमाले) का प्रदेशसभासद्ले कोरोना परीक्षण नगरी बैठक बस्न नहुने जनाई अवरोध गरेपछि बैठक स्थगन भएको थियो । परीक्षण सम्बन्धमा सहमति जुटेपछि प्रदेशसभा सदस्य एवम् कर्मचारीको पिसिआर परीक्षणपछि आजको बैठक शुरु भएको हो ।
कांग्रेस, माओवादी केन्द्र र जसपाका २८ सांसदले हस्ताक्षर गरेर मुख्यमन्त्रीविरुद्ध यही वैशाख २ गते अविश्वास प्रस्ताव दर्ता गराएका थिए । बैठकमा प्रस्ताव सम्बन्धमा छलफल चलिरहेको छ ।

