ओली नै प्रधानमन्त्री हुने निश्चित

-


     मर्दी न्युज    
     वैशाख ३० गते २०७८ मा प्रकाशित


काठमाडौं । संविधानको धारा ७६ को उपधारा २ बमोजिम संयुक्त सरकार गठनको प्रक्रिया तुहिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर सरकार गठनको प्रयास गरिएको भएपनि त्यो सफल हुन सकेन ।

जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष नयाँ सरकार गठनको पक्षमा नदेखिएसँगै संयुक्त सरकार गठन प्रक्रिया विफल भएको हो । कांग्रेस सभापति शेरबहादुर देउवासँग बिहीबार विहान भएको भेटमा पनि ठाकुर र महतोले साथ दिन नसक्ने बताएका थिए ।

कांग्रेस–माओवादी नेताहरुको अपेक्षा थियो, एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले राजीनामा दिनसक्छन् । तर एमालेमा अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच सहमति जुटेसँगै नेपालका सांसदहरुले राजीनामा दिएनन् ।

बहुमतको सरकार गठनका लागि प्रतिनिधिसभाका १३६ सांसदको समर्थन आवश्यक पर्छ । तर कांग्रेससँग ६१ (दुई निलम्बितबाहेक) र नेकपा माओवादी केन्द्रसँग ४९ सांसद मात्र छन् । जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष पनि वैकल्पिक सरकार गठनको पक्षमा छन् । तर यसले पनि बहुमत पुग्दैन ।

एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरुले राजीनामा दिएमा बहुमत पुर्‍याउन कांग्रेस, माओवादी केन्द्र र जसपाको बाबुराम भट्टराई-उपेन्द्र यादव पक्षका सांसदले नै पुग्ने आशा विपक्षी गठबन्धनको थियो ।

वैकल्पिक सरकार गठन गर्ने कांग्रेस–माओवादी केन्द्रको प्रयास असफल भएपछि फेरि एमाले अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने भएका छन् । २७ वैशाखमा संसदको विश्वास गुमाएसँगै पदमुक्त भएका ओली संविधानको धारा ७६ (३) अनुसार संसदको सबभन्दा ठूलो दलको नेताका रुपमा प्रधानमन्त्री बन्ने छन् ।