मिलेनियम ट्रेक रुटमा थपिदैं छन आकर्षक गन्तव्य तथा पुर्वाधारहरु

-


     मर्दी न्युज    
     जेठ ७ गते २०७८ मा प्रकाशित


सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) बाट परिचीत तनहुँ जिल्लाको दुलेगौंडाबाट शुरु भएर स्याङ्जा जिल्लाको वालिङ र रामबाच्छामा टुंगिने मध्य पहाडी क्षेत्रको चर्चित पदमार्गमा प्रत्येक बर्ष केहि न केहि नयाँ आकर्षण थपिने क्रम जारी छ ।

यसै पदमार्ग अन्तर्गत स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका वडा नँ १२ पेल्काचौरमा थप सौन्दर्यिकरण गरिने बुझिएको छ । पेल्काचौर आफैमा एक सुन्दर तथा ऐतिहासिक बस्ती हो । गुरुङ जातिको बाहुल्यता रहेको यो गाउँ अतिथि सत्कार तथा होमस्टेको लागि प्रसिद्ध छ। यस गाउँको चारै दिशामा प्रसिद्ध तिर्थस्थल तथा देबिदेवताका मन्दिर र थानहरु रहेका छन् ।

यिनैमध्ये गाउँको पुर्वीभागमा पर्ने नकचु डाँडामा प्रसिद्ध नकचु पंचमुखी शिव मन्दिर रहेको छ । यस पबित्र स्थानलाई नकचु पन्चमुखी धामको नाम बाट समेत पुकारिन्छ । पर्यटन बिकासका अभियन्ता तथा धार्मिक ब्यक्तित्व श्री खेम गुरुङको पहल तथा अग्रसरतामा उक्त मन्दिर सम्मपुग्ने बाटो, धर्मशालाको निर्माण, पिउने पानीको ब्यबस्थापन, नजिकै रहेको जंगलको संरक्षण, मन्दिरमा रहेका मुर्ति, त्रिशूल तथा शंखघंट हरुको संरक्षण तथा उचित ब्यबस्थापन, पर्खाल निर्माण तथा थप सौन्दर्यिकरणको काम शुरु भएको छ ।

कामको प्रगति बारे थप बुझ्न खोज्दा प्राबिधिक तथा इन्जिनियर बाट डिपिआर तयार भइसकेकोले अब योजनाबद्द रूपमा काम गरिने समाजसेवी टौ बहादुर गुरुङले बताउनुभयो । सुर्योदय तथा सुर्यास्त दुबै अत्यन्तै राम्रो संग देखिने र हिमालको मनमोहक देखिने नकचु पन्चमुखी धाम प्रकृति र संस्कृतिको अनुपम संगम हो । यसको बिकास र सौन्दर्यिकरणले धार्मिक तथा नियमित पर्यटकको आगमन संख्या र बसाई दुबै लम्ब्याउनेमा बिस्वस्त हुन सकिन्छ ।