
फोटोः मनशान्त घिमिरे
बिश्वको सर्बोच्च शिखर सगरमाथा (८८४८.८६ मि) को पहिलो सफल आरोहण सन् १९५३ को मे महिनाको २९ तारीख (आजकै दिन) तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले गरेका थिए ।
त्यो दिन सारा बिश्वकै लागि अबिस्मरणिय र जितको दिन थियो ।
आरोहण इतिहासलाई हेर्दा चार्ल्स होवार्ड बुरिको नेतृत्वमा जर्ज मेलोरी सम्मीलित बेलायती टोलीले सन् १९२१ मा इस्ट रोङ्ग्बुक ग्लेसियरको बाटो सगरमाथाको आरोहण गर्ने प्रयास गरेको पाइन्छ । तसर्थ बिगत १०० बर्षदेखि सगरमाथा आरोहण साहसिक आरोहिहरु को चासो र आकर्षणको केन्द्र बनिरहेको छ ।

अहिलेपनि सगरमाथाको चुचुरो चुम्न, विभिन्न कीर्तिमान कायम गर्नको लागि हजारौंले सपना देख्ने गर्दछन् । सगरमाथाको बारेमा थुप्रै पुस्तक, गित, चलचित्रहरु बनिसकेका छन् । बर्सेनि सयौं बिदेशी तथा स्वदेशीहरु ले आरोहण गर्ने सगरमाथामा सन् २०१८ मा सर्वाधिक ८०२ जना चुचुरोमा पुगेका थिए जसमध्ये ६८ जना महिला थिए ।
अमेरिकाको न्युयोर्कमा फर्चुन म्यागेजिनमा कार्यरत एलिजाबेथ हौलि ले सन् १९५७ मा त्यहाँको जागीर छोडेर सन १९६० देखि काठमाडौंमा बस्दै आउनु भएको थियो। त्यही बर्षबाट उहाँले रिउटर्स न्युज एजेन्सीको सम्बाददाताको रूपमा काम गर्नुभयो । पर्वतारोहण गतिविधिमा चासो राख्ने हौलीले नेपालका हिमाल आरोहण गर्न आउने लगभग सबै एक्स्पिडिसन लिडरहरु लाई भेटेर बिस्तृत बिवरण जम्मा गर्नुभएको थियो ।

सन् २०१८ मा चौरानब्बे बर्षमा काठमाण्डौंमा देहबसान भएकी हौली आरोहण इतिहासका महत्वपूर्ण दस्ताबेद हुनुहुन्थ्यो । एलिजाबेथ हौलीको हिमालयन डाटाबेस अनुसार सन् २०१८ सम्ममा सगरमाथाको चुचुरोमा विभिन्न ४८३३ जना ब्यक्तिहरुले ८३०६ पटक समिट गरेका छन् । हिमाल आरोहण रोमान्चक हुनुको साथै जोखिम पुर्ण पनि हुन्छ । आरोहणका क्रममा अहिलेसम्म २८८ जनाले आफ्नो ज्यान समेत गुमाएका छन् । औसतमा प्रत्येक बर्ष ४ देखि ६ जनाले सगरमाथा आरोहणका क्रममा ज्यान गुमाउने गरेका छन् ।
सोलुखुम्बु जिल्लाको थामे गाउँमा जन्मिएका कामी रिता शेर्पाले २५ औं पटक चुचुरोमा पुगेर यस अगाडिको आफ्नै नाममा रहेको बिश्व रेकर्ड तोडेका छन् भने थुप्रै आरोहीहरुका विभिन्न खाले बिश्व रेकर्डहरु गर्दै आइरहेका छन् ।

यो समाचार तयार पार्दा सम्म यो सिजनको अन्तिम आरोहण प्रयासका लागि स्वदेशी तथा बिदेशी (आरोहण सहयोगिहरु समेत) गरि झन्डै ५०० जनाको टोलि दोश्रोक्याम्प मा रहेको बुझिएको छ। उनिहरु उपयुक्त मौसमको पर्खाइमा रहेका छन् ।
नेपाल सरकारले पनि आरोहण दस्तुर तथा सलामी मार्फत राम्रो राजस्व उठाउने हुनाले सगरमाथा लाई उच्च महत्त्वका साथ हेर्ने गरेको छ । गतवर्ष मात्रै खिमलाल गौतमको नेतृत्वमा गएको नेपाली नापी टोलिले सगरमाथाको उचाई मापन कार्य सम्पन्न गरि नयाँ उचाई ८८४८.८६ प्रमाणित गरेको थियो ।

नेपाल पर्वतारोहण संघले विभिन्न कार्यक्रम गरि सगरमाथा दिवस मनाउने गरे तापनि यो बर्ष बिश्वब्यापी महामारी कोभिड-१९ को दोस्रो लहर फैलिएको र नेपाल सरकारले लक डाउन घोषणा गरेकोले आज दिउँसो १० बजे देखि १२ बजे सम्म एक भर्चुअल अन्तर्क्रीया कार्यक्रम गर्ने संघका महासचिव श्री कुल बहादुर गुरुङले बताउनुभयो ।
फोटाहरुः सगरमाथा आरोही आशिस गुरुङ

