
पर्यटन क्षेत्रको अग्रणी संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ( टान ) पश्चिमाञ्चल क्षेत्रीय संघ, पोखराले आज असार २४ गते बिहान रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
संक्षिप्त औपचारिक कार्यक्रमको सभापतित्व गरेका टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सुशीलराज पौडेलले पछिल्लो समय पोखरा तथा गण्डकी प्रदेशमा रगतको अभाव भएको बुझिएको र आफ्नो संस्थाको बार्षिक कार्यक्रम समेत भएकोले रक्तदान कार्यक्रम गरिएको बताउनुभयो ।

पहिलो रक्तदातालाई ब्लडब्याग हस्तान्तरण गरेर उदघाटन गरिएको कार्यक्रमका प्रमुख अतिथि पोखरा पर्यटन परिषदका अध्यक्ष गोपि बहादुर भट्टराईले कोभिडकै त्रासको बीच पनि टानले रक्तदान जस्तो मानवीय कार्यक्रम गरेको, केहि समय अगाडि पर्यटन मजदुरहरुलाई राहत बितरण लगायतका सामाजिक कामहरुको प्रशंसा गर्दै ब्यबसायी तथा मजदुरहरुको हितमा हुने कार्यक्रममा आफू सदा साथमा रहने बताउनुभयो ।
टानको कार्यालय परिशर, शान्तिपाटन , लेकसाइडमा सम्पन्न रक्तदान कार्यक्रममा टानका सदस्य कम्पनीहरु, विभिन्न पर्यटन मजदुर संगठनका सदस्यहरु, पोखरा पर्यटन परिषद आबद्ध संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले रक्तदान गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी, क्षेत्रीय रक्त संचार सेवा, रामघाट, पोखराको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा मौसमको प्रतिकुलता र ठूलो झरीका बाबजुद पनि ४७ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक लक्ष्मी कोइरालाले बताउनुभयो ।

