
पोखरा । २०५४ सालमा स्याङ्जाको सिरुबारी बाट स्व. क्याप्टेन रुद्रमान गुरुङको अबधारणा अनुसार सुरुभएको घरवास (होम स्टे) कार्यक्रम अहिले नेपालब्यापी भएको छ।
खासगरी स्थापित पर्यटक पदमार्ग भन्दा बाहिर रहेका र आफ्नै मौलिक संस्कृति, रहनसहन, भेषभुषा, खानपिन भएका गाउँठाउँका घरवासहरु पछिल्लो समय चर्चित र प्रख्यात बनेका छन् । शिष्ट बोली, पारिवारिक माहोल र आत्मीय व्यबहारका कारण स्वदेशी तथा बिदेशी पर्यटकहरु ले होमस्टे पर्यटन रुचाएको पाइन्छ ।
स्याङ्जाको सिरुवारी अनि सुन्तलावारि, पर्वतको चित्रे, भुकदेउराली, कास्कीको ल्वाङ, ताङतिङ्ग, याङ्जाकोट, लमजुङको घलेगाँउ , राईनासकोट, तनहुँको दुम्सी दरै, रानागाँउ जस्ता ठाउँहरु अहिले अग्रपंक्तिमा रहेका होमस्टेहरु हुन् । यस अर्थमा गण्डकी प्रदेशलाई होमस्टे को राजधानी समेत मान्न सकिन्छ।

पछिल्लो समय संघीय सरकार र प्रदेश सरकारहरुले समेत यसलाई प्रोत्साहन र प्रबर्द्धन गर्न खोजेको देखिन्छ। गण्डकी प्रदेशका निबर्तमान उद्योग, पर्यटन, बन तथा बाताबरण मन्त्री बिकाश लम्साल लाई त सबैभन्दा बढी होमस्टे मैत्री मन्त्रीको रूपमा हेरिन्थ्यो ।
यसै सन्दर्भमा ग्रामीण पर्यटन तथा होमस्टेलाई समयसापेक्ष र प्रबिधिमैत्री, सरल तर सूचनापुर्ण बनाउने हेतु ग्रामीण पर्यटन प्रबर्द्धन मञ्च नेपाल, गण्डकी प्रदेशको अग्रसरतामा प्रबर्द्धनात्मक ू भिजिट गण्डकी मोबाइल एपको शुभारम्भ गरिएको भिटोफ गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले बताउनुभयो ।
यो एपले गण्डकी प्रदेशका ५० वटा घरवास (होमस्टे) हरुलाई समेटेको र अब प्रत्येक सामुदायिक होमस्टेहरु लाई नेपाल टेलिकम संगको सहकार्यमा विशेष सिमकार्ड तथा मोबाइल नम्बरहरु उपलब्ध गराइने भिटोफ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तारानाथ पहारिले बताउनुभयो।

होमस्टेहरु को स्तरमापन गर्दै दरभाउ कायम गर्न, सेवा अनुसारको रकममा एकरुपता ल्याउन र सरल रूपमा भुक्तानी पाउनको लागि डिजिटल पेमेन्ट प्लाटफर्म इसेवा संग संझौता गरिएको छ । संझौतापत्रमा इसेवाका मार्केटिङ म्यानेजर अनिश बिश्वकर्मा र भिटोफ गण्डकी प्रदेशका अध्यक्ष नबराज अधिकारीले हस्ताक्षर गर्नुभएको छ ।
हिमाल आरोहण र ट्रेकिङ ब्यबसाय बाट शुरुभएको नेपालको पर्यटन मा ग्रामीण पर्यटन थपिएकोले पर्यटन को विविधीकरण त भयो नै साथै यसलाई डिजिटल युगमा प्रबिधिमैत्री बनाउदा ग्रामीण पर्यटनमा नयाँ आयाम थपिएको र थप उचाइमा पुग्ने बिश्वास गर्न सकिन्छ।

