
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति आज (शुक्रबार) सार्वजनिक गर्ने तयारी गरेको छ ।
राष्ट्र बैंक व्यवस्थापन समितिको बिहीबार साँझ बसेको बैठकले मौद्रिक नीति स्वीकृत गर्दै बोर्डमा पठाएको छ । आज बिहान साढे ८ बजेका लागि गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको बोर्ड बैठक बोलाएका छन् ।
राष्ट्र बैङ्कले साउन पहिलो साता नै मौद्रिक नीति ल्याउने तयारी गरेको भए पनि असार अन्तिम साता भएको सरकार परिवर्तनले मौद्रिक नीति पछि सरेको थियो ।
अर्थमन्त्री जनार्दन शर्माले मंगलबार संसदमा आर्थिक श्वेतपत्र पेस गरेपछि मौद्रिक नीतिका लागि मार्ग निर्देशन भएको भन्दै राष्ट्र बैङ्कले आज मौद्रिक नीति ल्याउने तयारी गरेको हो ।
केपी ओलीको सरकारले चालु आर्थिक वर्षमा साढे ६ प्रतिशतको आर्थिक वृद्धिदर तथा मुद्रास्फीति पनि साढे ६ प्रतिशतमा सीमित राख्ने लक्ष्यसहित बजेट ल्याएको थियो । तर, नयाँ सरकारले बजेट संशोधनका लागि प्रतिस्थापन विधेयक ल्याउने बताएकाले त्यसमा केही परिमार्जन हुन सक्ने अनुमान गरिएको छ ।