
रुकुम पुर्व । कर्मफ्लाईटस् फाउन्डेशन पोखरा कास्कीको सहयोगमा रुकुम पूर्वका विद्यालयहरु मा रु ८ लाख ८ हजार ९ सय ५० को लागतमा एक विद्यालय एक पुस्तकालय कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।
यस हिमाली जिल्लाको माथिल्लो भेगमा अवस्थित पूथा उत्तरगंगा गाउँपालिकाका ११ विद्यालयहरुमा बालवालिका तथा वयस्क सवैले पढ्न मिल्ने विभिन्न विधाका पुस्तकहरु सहितको पुस्तकालय कार्यक्रम फाउन्डेशनले एजुकेजन फर लाइफ नर्वे तथा प्रोमिस प्रोजेक्ट तथा यसका अन्य सहयोगी मनहरुको सहकार्यमा तथा गाउँपालिकाको समन्वय र स्विकृतिमा यो कार्यक्रम कार्यन्वयन गरिएको संस्थाका पूर्वी रुकुम जिल्लाका कार्यक्रम संयोजक कर्मसही घर्ति मगरले जानकारी दिए ।
गत वैशाख २०७८ मै तय भएको कार्यक्रम कोभिड १९ को दोश्रो लहर आए लगत्तै बन्दावन्दी र मनसुनको कारण हुन सकेको थिएन । हाल आएर श्रावण २३ देखि २९ सम्म संवन्धित विद्यालयमै पुगी पुस्तकालय हस्तान्तरण गरिएको थियो । पुस्तकालय स्थापना गरि निरन्तर शिक्षा, जीवनोेपयोगी शिक्षा तथा सृजनशीलताको लागि टेवा पु¥याउँन ग्रामिण भेगमा अध्ययन गर्ने स्कूले केटाकेटीहरुलाई पढाईमा प्रेरित गर्न यस्तो कार्यक्रमले सहयोग पुग्ने बताउँदै मध्ये वर्षाको सकसपूर्ण यात्राको जोखिम लिएर आफूहरुले पुस्तकालय हस्तान्तरण गर्न पाउँदा अत्यन्तै हर्षित भएको एजुकेसन फर लाइफ नर्वेका कार्यक्रम संयोजक मीना कार्कीले बताइन् ।

पोखराबाट मध्यपहाडी लोकमार्ग हुदै बाग्लुङ, रुकुमको काँक्री र शहिद मार्ग हुदैँ टकसेरा सम्म गाडीमा र त्यस पश्चात स्थानिय विद्यालय तथा गाउँपालिकाका प्रतिनिधी स्वंयम खटिएर पुस्तकहरु उत्तरगंगा खोला तारी वडा नं १ देखि ६ सम्मका विद्यालयमा पु¥याई हस्तान्तरण कार्यक्रम गरिएको थियो ।
पूथा उत्तरगंगा गाउँपालिका वडा नं १ को श्री हिमालय मा.वि मैकोटमा सन् २०१७ सालमा एक विद्यालय एक पुस्तकालय कार्यक्रम पाइलट प्रोजेक्टको रुपमा शुरु भए यता चालु आर्थिक वर्षमा वडा नं १ को आधारभुत विद्यालय पुसर (५२१ थान पुस्तक सहित), वडा नं २ को हिमालय मा.वि. पेल्मा (५२१ थान पुस्तक सहित) र श्री तातापानी आ.वि २०० थान पुस्तक सहित), वडा नं ३ को श्री आधारभुत विद्यालय रन्मा (५९१ थान पुस्तक सहित), वडा नं ४ का श्री जनज्योती आ.वि घुन्मा (५३५ थान पुस्तक सहित), वडा नं ५ को श्री देउराली मा.वि हुकाम (९२६ थान पुस्तक, १÷१ सेट डेक्स टप कम्प्युटर (सिपियु) मोनिटर कबोर्ड, प्रोजेक्टर, प्रिन्टर र थर्मल गन सहित), सोही वडाको श्री आधारभुत विद्यालय गरी (५९३ थान पुस्तक सहित) र श्री नेपाल राष्ट्रिय आ.वि काजरजङ (५९४ सेट पुस्तक सहित) तथा वडा नं ६ का श्री जनजागृति आ.वि मयाङ (७३० थान पुस्तक सहित) र श्री आदर्श आ.वि डिमुरगैरामा (४०० थान पुस्तक सहित) एक विद्यालय एक पुस्तकालय कार्यक्रम हस्तारन्तरण गरिएको कर्मफ्लाईटस्का कार्यक्रम निर्देशक प्रेम ब. कुँवरले बताए ।
सडक सञ्जालले हाल सम्म नजोएिका विकट ग्रामिण भेगका यी विद्यालयमा अहिले सम्म पुस्तकालय नभएकोमा कर्मफ्लाईटस्ले विद्यालयमा पुस्तकालयको लागि आवश्यक पुस्तक उपलब्ध गराए पछि विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरु खुशी भएका छन् । विद्यालयहरुले टकसेराबाट विद्यालयसम्म पुस्तक ढुवानी गर्नुका साथै पुस्तकालय व्यवस्थापनको लागि आफ्नैै खर्चमा दराज बनाएको र पुस्तकालय प्रयोग आचारसंहिता बनाएर पुस्तकालयलाई विद्यालय तथा समुदायको लागि खुल्ला गरिने जनजागृति आ.वि मयाङका प्रअ चेत बं कुमार सेनले बताए ।
चियालय लगायतका पुस्तकका सर्जक कर्मसहि घर्ति मगरका अनुसार प्रत्येक विद्यालयका प्रदान गरिएका पुस्तकहरुमा विद्यार्थीको लागि आवश्यक पर्ने बाहिरी ज्ञानगुनका पुस्तक, कृषि, मनोरञ्जन, विज्ञान, इतिहास, वेद शब्दकोष संग्रह आदिका पुस्तकहरु उपलब्ध गराइएको छ । पुस्तकालयको उचित प्रयोग र सञ्चालनको लागि एक अनुगमन सञ्जाल बनाइने कार्यक्रम रहेको बताइएको छ । संस्थाको यस अभियानमा २ वटा विद्यालयलाई १÷१ सेट बेद तथा अन्य पुस्तक उपलब्ध गराउनु हुने पोखराका शिक्षा सेवी हेरम्व प्रसाद कोइराला तथा पत्रकार रविन्द्र माकाजु, प्राज्ञ सरुभक्त श्रेष्ठ लगायत सहयोगीहरुलाई संस्था मार्फत विद्यालयहरुले धन्यवाद ज्ञापन गरेका छन् ।

यसका साथै कर्मफ्लाईटस्ले पूथा हिमालय मा.वि मैकोटका ३२ जना र श्री जनजागृति आ.वि मयाङका १७ जनालाई प्रति विद्यार्थी ६ हजार पाँच सय का दरले जम्मा रु ३ लाख १८ हजार ५ सय बरावरको छात्रवृत्ति वितरण गरिएको संस्थाका फिल्ड कोओडिनेटर राजु परिवारले जनाए । यस अघि सोहि विद्यालयका विद्यार्थीहरुलाई एक एक वटा बछेली सहितको माउ बाख्रा प्रदान गरिएको थियो ।
स्वास्थ्य सरसफाइ र सिकाईलाई सँगसगै जोड्नको लागि १० वटा विद्यालयमा सफा पिउने पानीको लागि २० लिटर श्रमताका किड्नी डाइलोसिस् प्रविधिबाट पानी शुद्धिकरण गर्ने २ देखि ५ सेट फिल्टर पनि प्रदान गरिएको थियो । कर्मफ्लाईटस् फाउन्डेशनले आ.व २०७७÷०७८ भित्रमा मात्र पूथा उत्तरगंगा गाउँपालिकामा शिक्षा र स्वास्थ्यमा रु २५ लाख बरावरको सहयोग गरिसकेको छ भने कोभिड १९ रोकथाम तथा उपचारको लागि रुकूम पूर्व र रुकुम पश्चिम जिल्लाका जिल्ला स्वास्थ्य कार्यालयहरुलाई अक्सिजन कन्सन्ट्रेटर मेसिन लगायतका स्वास्थ्य सामाग्री प्रदान गरेको छ । चालु आ.वि मा पनि संस्थाको एक विद्यालय एक पुस्तकालय कार्यक्रम र आफन्तजन छात्रवृत्ति कार्यक्रम निरन्तर रहने कुरा छात्रवृत्ति संयोजक तारा कुँवरले बताइन् ।

