सुनको मूल्य प्रतितोला रु ९४ हजार ६००

-


     मर्दी न्युज    
     २८ कार्तिक २०७८ मा प्रकाशित


काठमाडौँ । नेपालको सुनचाँदी बजारमा केही दिन अघिदेखि लगातार बढिरहेको छापावाल सुनको मूल्य आज पनि प्रतितोला रु २०० ले उकालो लागेर रु ९४ हजार ६०० कायम भएको छ ।

पहेँलो धातु गत शुक्रबार प्रतितोला रु ९४ हजार ४०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार १०० छ । अघिल्लो दिन प्रतितोला रु ९३ हजार ९०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य शुक्रबारका तुलनामा रु १० ले उकालो लागेर एक हजार २९५ कायम भएको छ । चाँदी शुक्रबार प्रतितोला रु एक हजार २८५ मा कारोबार भएको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८६४ डलर आसपासमा कारोबार भइरहेको छ ।

सुनको कोटा बढाउन व्यवसायीको माग

महासङ्घले सुनको कोटा दैनिक ३० किलो बनाउन नेपाल राष्ट्र बैङ्कसँग आग्रह गरेको छ । हालको आपूर्ति व्यवस्थाले बजारको माग धान्न नसकेको भन्दै आपूर्ति व्यवस्था बढाउन राष्ट्र बैङ्कसँग आग्रह गरेको महासङ्घका अध्यक्ष शाक्यले जानकारी दिए ।

हाल वाणिज्य बैङ्कमार्फत सुनको आपूर्ति हुँदै आएकोमा त्यसलाई व्यवस्थित र प्रभावकारी बनाउन ‘गोल्ड बैङ्क’मार्फत आपूर्ति व्यवस्था मिलाउनुपर्ने तथा सुनको वितरण काठमाडौँ केन्द्रित रहेकोले त्यसलाई विकेन्द्रित गर्दै तोकिएका नाकाबाट कच्चा सुन पाउने व्यवस्था मिलाउनुपर्नेमा अध्यक्ष शाक्यले जोड दिएका छन्।

हाल राष्ट्र बैङ्कले सुनको दैनिक कोटा २० किलो रहने व्यवस्था गरेको छ । रासस