पस्मिना उत्पादनका लागि ऊनको गुणस्तर अध्ययन

-


     मर्दी न्युज    
     मंसिर १ गते २०७८ मा प्रकाशित


फाईल फोटोः गंगा बहादुर घले

सन्तोष गौतम, म्याग्दी । मुस्ताङमा उत्पादन भएको पस्मिनाको कच्चापदार्थ ऊनको गुणस्तर अध्ययन गरिएको छ । नेपाल पस्मिना उद्योग सङ्घ र फाइबर प्रोसेसिङ प्रालिको अनुरोधमा विश्व व्यापार सङ्गठनको सहयोगमा विदेशी विज्ञको टोलीले मुस्ताङको लोघेकर–दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा ऊनको गुणस्तर अध्ययन गरेको हो ।

स्कटल्याडका ऊन विज्ञ डेबिड लि, विश्व व्यापार सङ्गठनका इञ्जिनीयर प्रकाश झा, पस्मिना उद्योग सङ्घका अध्यक्ष विजयकुमार दुगड र उपाध्यक्ष धनप्रसाद लामिछानेको टोली तीन दिनको अध्ययन सकेर आज काठमाडौँ फर्किएको छ । उपाध्यक्ष लामिछानेले स्वदेशी ऊन प्रशोधन गरेर पस्मिना उत्पादनको लागि गुणस्तर र अवस्था अध्ययन गरिएको जानकारी दिनुभयो । “विज्ञको सिफारिसको आधारमा ऊन सङ्कलन, भण्डारण र प्रशोधनका लागि उपयुक्त उपकरण र प्रविधिको व्यवस्थापन गर्न लागिएको हो”, उहाँले भन्नुभयो, “सङ्कलन विधिलाई सुधार गरेमा मुस्ताङको ऊनबाट गुणस्तरीय पस्मिना उत्पादन गर्न सकिने सुझाव पाएका छौँ ।”

टोलीले लोघेकर–दामोदरकुण्ड, लोमान्थाङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका जनप्रतिनिधि र च्याङग्रापालक किसानसँग अन्तक्र्रिया गरेको जनाइएको छ । पस्मिना उद्योगीले लोघेकर दामोदरकुण्ड गाउँपालिकाको चराङमा च्याङग्राको भुवा सङ्कलन केन्द्र स्थापना गरेर रु एक करोड २५ लाख मूल्य बराबरको दुई हजार ८०० किलो ऊन खरिद गरेर राखेका छन् ।

नेपालबाट विदेश निर्यात हुने प्रमुख वस्तु पस्मिना बनाउन च्याङग्राको ऊन प्रशोधन गरेर बनाएको धागो कच्चापदार्थको रुपमा प्रयोग हुन्छ । सङ्घका अनुसार नेपालबाट वार्षिक रु। तीन अर्बको पस्मिना निर्यात हुन्छ भने वार्षिक १९५ टन पस्मिना बनाउन आवश्यकपर्ने भुवाको धागो आयात हुन्छ । विदेशबाट कच्चापदार्थ आयात घटाउन मुस्ताङ, मनाङ, डोल्पा, मुगु, हुम्लालगायत जिल्लाका किसानबाट च्याङ्ग्राको भुवा खरिद गर्न थालिएको सङ्घका कोषाध्यक्ष कृष्ण पङ्गेनीले बताउनुभयो ।

पस्मिना उद्योगी भीम शेरचनले मुस्ताङको मात्र भुवा प्रशोधन गर्न सकेमा ३० प्रतिशत भुवाको धागो आयात घटाउन सकिने बताउनुभयो । “परम्परागत र अव्यस्थित रुपमा सङ्कलन गरिएको मुस्ताङको भुवा प्रशोधन गर्दा ३० प्रतिशत प्रयोगयोग्य हुने देखिएको छ”, उहाँले भन्नुभयो, “च्याङग्रापालन र भुवा सङ्कलनलाई आधुनिक र व्यवस्थित बनाउने हो भने गुणस्तर बढाउन सकिन्छ ।”

बजारको सुनिश्चितता नभएकाले मुस्ताङका किसानले यसअघि ऊन निकाल्ने गरेका थिएनन् । शरीरबाटै झरेर खेर जाने गरेको थियो । ३० प्रतिशतको हाराहारीमा ऊन निकाले पनि बजार नपाउने समस्या थियो । तिब्बती सीमा कोरला नाकामा अन्तरदेशीय व्यापार मेला हुँदा चिनियाँ व्यापारीले सामानसँग ऊन सतही गरेर लैजान्थे ।

कोरोनाका कारणले पछिल्लो दुई वर्षयता व्यापार मेला नहुँदा करोडौँ मूल्यको ऊन बिक्री हुनसकेको थिएन् । लोघेकर–दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले खेरगइरहेको ऊनले उचित मूल्य र बजार पाएपछि किसानमा खुसीयाली छाएको बताउनुभयो । लोमान्थाङ, कागबेनी र जोमसोममा पनि भुवा सङ्कलन केन्द्र राख्न किसानले प्रस्ताव गरेका छन् ।

किसानले केन्द्रमा ल्याउने ऊन सङ्कलन गरेर सङ्घले खरिद गरी काठमाडौँ लैजाने सम्झौता भएको छ । प्रतिकिलो अप्रशोधित ऊनको सरदर मूल्य रु चार हजार ५०० कायम गरिएको सङ्घले जनाएको छ । वैशाख, जेठ महिना च्याङ्ग्राको शरीरबाट ऊन निकाल्ने याम हो । ऊन निकाल्ने सीप र नयाँ प्रविधि हस्तान्तरणका लागि तालीम सञ्चालन गर्ने तयारी भएको छ ।

मासुका लागि प्रसिद्ध हिमाली च्याङ्ग्राको छाला र मल पनि बिक्री हुन्छ । च्याङग्राको ऊन पस्मिनाका लागि ९क० श्रेणीको कच्चापदार्थ हो । भेडा र चौरीको तुलनामा च्याङग्राको ऊनलाई गुणस्तरीय मानिएको छ । मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङलगायतका ठाउँका किसानले व्यावसायिक च्याङग्रापालन गरेका छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका अनुसार जिल्लामा ५२ हजार च्याङग्रा पालिएको छ । रासस