पर्यटन प्रवद्र्धनका लागि नेपालमा आएको बङ्गलादेश पाटा च्याप्टर टोली आज पोखरामा

-


     मर्दी न्युज    
     १ मंसिर २०७८ मा प्रकाशित


दुई देशीय (नेपाल–बङ्गलादेश) पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले पाटा बङ्गलादेश च्याप्टरको सहकार्यमा ‘नेपाल–बङ्गलादेश पर्यटन प्रवद्र्धन एण्ड बिटुबी एक्सचेन्ज कार्यक्रम’ आयोजना गरेको छ ।

नोभेम्बर १६ देखि २१ सम्म सञ्चालन हुने उक्त कार्यक्रम अन्तर्गत गन्तव्य प्रवद्र्धनदेखि व्यावसायिक साझेदारि एवं प्रवद्र्धनका विषयमा छलफल हुनेछ । पाटा बङ्गलादेश च्याप्टरका अध्यक्ष साहिद हमीद, महासचिव तफिक रेहेमानसहित पर्यटन व्यवसायी मङ्गलबार नेपाल आएका हुन् । उक्त टोलीमा बङ्गलादेशका टूर अप्रेटर, मिडिया र युनिभर्सिटिका स्टुडेन्स च्याप्टरका प्रतिनिधि पनि सहभागी छन् । क्षेत्रीय पर्यटन प्रवद्र्धन अन्तर्गत हुन लागेको बिटुबी (बिजनेश टु विजनेश) सम्झौताका लागि यो टोली नेपाल आइपुगेको पाटा नेपालले जनाएको छ ।

कार्यक्रमका अवसरमा नोभेम्बर १७ देखि १९ सम्म प्रसिद्ध पर्यटकीय क्षेत्र पोखराको परिचयात्मक भ्रमण आयोजना गरिएको छ । उक्त प्रयोजनका लागि भ्रमण टोली आजै पोखरा गएको छ । पोखरा पर्यटन परिषदसँगको सहकार्यमा पोखराको परिचयात्मक भ्रमणसँगै सरोकारवाला व्यवसायीसँग अन्तक्र्रिया गरिने आयोजक पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशसिंह बुडालले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौँमा बिटुबी कार्यक्रम आयोजना गरिनेछ । ‘डेस्टिनेशन इनसाईड’बारे प्रस्तुितकरण हुनेछ ।

नेपाल र बङ्गलादेशबीचको पर्यटन प्रवद्र्धन अन्तर्गत आन्तरिक तथा अन्तरराष्ट्रिय पर्यटन प्रवद्र्धन, सशक्तीकरण र व्यावसायिक सम्भावनाका विविध आयामबारे छलफल गरिने सिइओ बुडालले बताउनुभयो । उक्त कार्यक्रमको हस्पिटालिटी पार्टनर केजिएच ग्रुप, एभरेष्ट होटल, होटल अलफट काठमाडौँ र ¥याडिसन होटल छन् । रोयल माउन्टेन ट्राभल ट्रान्सपोर्ट पार्टनर रहेको छ । नेपाल पर्यटन बोर्ड प्रवद्र्धक तथा हिमालय एयरलाइन्स पार्टनर रहेको छ । कोभिड–१९का कारण तत्काल ‘लङ हल रुट’ अन्तर्गतको गन्तव्यमा पर्यटन प्रवद्र्धन हुन कठिन देखिएपछि क्षेत्रीय पर्यटन प्रवद्र्धनको आवश्यकता रहेको बङ्गलादेश पाटा च्याप्टरका अध्यक्ष साहिद हमीदले बताउनुभयो ।

उहाँले कोभिड महामारीले थलिएको पर्यटन प्रवद्र्धनका लागि नयाँ सोच र अवधारणा अन्तर्गत क्षेत्रीय पर्यटन प्रवद्र्धनमा जोड दिइएको उल्लेख गर्नुभयो । मुलुकको पर्यटन प्रवद्र्धनका लागि आन्तरिकसँगै क्षेत्रीय पर्यटन प्रवद्र्ध्नलाई मुख्य जोड दिएको पाटा नेपालका सिइओ बुडालले बताउनुभयो । उहाँले भन्नुभयो, “सन् २०२२का लागि पाटाको मुख्य उद्देश्य भनेकै क्षेत्रीय सहकार्य गर्ने हो ।”

आन्तरिक पर्यटन मुलुकको पर्यटनको मेरुदण्ड हो । योसँगै अव विदेशी पर्यटकलाई पनि आकर्षक गर्ने बेला आइसकेको छ । अमेरिका, युरोपलगायत मुलुकबाट पर्यटक भित्र्याउन अझै पनि गाह्रै देखिन्छ । “अहिलेको प्राथमिकता भनेको ‘सर्ट हल फ्लाइट’ हुने अन्तर्राष्ट्रिय बजार नै हो”, उहाँले भन्नुभयो । पाटा नेपालले निकट भविष्यमा भारत, श्रीलङ्का, भुटान, म्यान्मारलगायत मुलुकसँग दुईतर्फी क्षेत्रीय पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखेको उहाँले जानकारी दिनुभयो ।