भक्तपुर जिल्ला ७५औं पशु डाईक्लोफेनेक मुक्त घोषणा

-


     भुपाल नेपाली    
     २५ मंसिर २०७८ मा प्रकाशित


भक्तपुर । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुर र नेपाल पंन्छी संरक्षण संघ काठमाण्डौंको आयोजनामा आयोजित गिद्ध संरक्षण तथा पशु डाईक्लोफेनेक मुक्त जिल्ला घोषणा कार्यक्रममा उपस्थित जिल्लाका सरोकारवाला निकायहरुले गिद्ध संरक्षणका लागि भक्तपुर जिल्लालाई मिति २०७८ साल मंसिर २४ गते ७५औं पशु डाईक्लोफेनेक मुक्त जिल्लाका रुपमा घोषणा गरिएको छ ।

प्रकृतिका कूचीकारका नामले चिनिने गिद्धले वातावारण सफा गर्ने, विभिन्न महामारी रोग लाग्नबाट बचाँउने, पारिस्थितिकिय प्रणाली र खाद्यश्रृखला कायम गर्न अहम भूमिका खेल्ले, धार्मिक तथा सांस्कृति महत्व बचाई राख्ने आदी जस्ता मानव जातिलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सेवा दिने पंछी गिद्ध भएकोले यसको संरक्षण गर्न आवश्यक ठानिएको छ ।

सन् १९९० भन्दा अगाडी नेपालमा झण्डै दश देखि सोह्र लाख गिद्ध र भारतमा भण्डै १६ करोड गिद्ध रहेकोमा हाल आएर ति गिद्धहरु डाईक्लोफेनेक नामक औषधीका कारणले औषतमा ९५ प्रतिशत भन्दा बढीले गिद्ध विनाश भएका छन् । यही विकराल अवस्थालाई मध्यनगर गरी नेपाल सरकारले २०६३ साल जेष्ठ २३ गते देखि पशु उपचारमा डाईक्लोफेनेक प्रयोग गर्न, विक्रिवितरण गर्न र भण्डारगर्न पूर्णरुपले प्रतिबन्ध लगाएको छ र गिद्ध संरक्षण कार्ययोजना पनि लागु गरेकोछ । सोही कार्ययोजना अनुसार नेपाललाई गिद्ध सुरक्षित क्षेत्र बनाई गिद्ध संरक्षण गरी गिद्धको संख्या पहिलेकै यथास्थितीमा ल्याउन लक्ष्य लिएको छ ।

भक्तपुर जिल्लाको पशु डाईक्लोफेनेक मुक्त घोषणा कार्यक्रमको अध्यक्षता भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका प्रमुख डा. गौरीमान श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख अथिति जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल रहेका थिए ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालयकी प्रशासकिय अधिकृत उर्मिला खतीवडा, जिल्ला समन्वय समितिका जिल्ला समन्वय अधिकारी जगन्नाथ लामिछाने, प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक राजु पाण्डे, डिभिजन वन कार्यालयका निमित्त डिभिजन वन अधिकृत प्रेम सापकोटा, कृषि ज्ञान केन्दका प्रमुख कृष्ण भद्र अभिकारी, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख रमेश प्रसाद मैनाली, स्वाथ्य कार्यालयका खोप अधिकृत प्रेम कुमार क्षेष्ठ, नेपाल पंन्छी संरक्षण सघकी प्रमुख कार्यकारी अधिकृत इशाना थापा, सामुदायिक वन महासंघका प्रतिनिधि सहदेव न्यौपाने, भक्तपुर नगरपािलकाका प्रतिनिधि पार्वती योञ्जन, चाँगु नारायण नगरपालिका प्रतिनिधि राजेश कुमार साई, मध्यपुर ठिमी नगरपालिका प्रतिनिधि ठर कुमार थापा, सूर्य विनायक नगरपालिका प्रतिनिधि ऋषिराम लामिछाने, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कर्मचारी, भेटेरीनरी प्राविधिक, एग्रोभेटका संचालकहरु, स्थानिय जन प्रतिनिधिहरु र स्थानिय संरक्षणकर्मीहरुको सक्रिय सहभागिता उक्त कार्यक्रममा रहेको थियो ।

नेपाल पंन्छी संरक्षण संघका प्रमुख कार्यकारी अधिकृत इशाना थापा ले नेपालमा गिद्ध संरक्षण बारे भएका सफलता र संरक्षण प्रयासहरुका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो, त्यसैगरी नेपाल पंन्छी संरक्षण संघका गिद्ध संरक्षण परियोजनाका ब्यवस्थापक अंकित विलास जोशी ज्यूले गिद्धको महत्व, गिद्ध हसको कारण, नेपालमा गिद्ध संरक्षणको लागि भएका कार्यहरु र गिद्ध संरक्षणमा हाम्रो भूमिकाका बारेमा सहजीकरण गर्नु भएको थियो भने भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका डा. गौरीमान क्षेष्ठ ले डाईक्लोफेनेक, यसले गिद्धलाई पार्ने असर र जिल्लालाई डाईक्लोफेनेक मुक्त जिल्ला घोषणा आधारका बारेमा प्रस्तुतीकरण गरेका थियो ।

कार्यक्रममा उपस्थित अतिथीहरुले यो कार्यक्रम गिद्ध तथा वातावरण संरक्षणका लागि अतिनै असल र प्रभावकारी भएकोले यसलाई स्थानिय स्तरसम्म लैजानु पर्छ र त्यसको लागि भेटेरीनरी प्राविधिकहरु र यस विषयका विज्ञहरुको संञ्जाल बनाई कार्य गर्नुपर्छ र औषधि अनुगमनलाई अगाडी बडाउदै विभिन्न संचार माध्यमहरुबाट गिद्ध संरक्षणका लागि ब्यापक प्रचार प्रसार गर्नुपर्ने सल्लाह सुझाव आएको थियो ।

उक्त जिल्लाहरुलाई पशु डाईक्लोफेनेक मुक्त घोषणा गर्नु पूर्व जिल्लाका विभिन्न भेटेरीनरी औषधि पसलहरुमा अनुगमन समेत गरिएको थियो । उक्त अनुगमनले गिद्धलाई हानी गर्ने औषधि पशु डाइक्लोफेनेक नभेटीएको र यसको बारेमा सचेत रहेको पाईएकोले उक्त जिल्लालाई प्रतिबद्धता सहित हस्ताक्षर गरी पशु डाइक्लोफेनेक मुक्त घोषणा गरिएको थियो ।