नेपालमा कोरोना सङ्क्रमितको ग्राफ बढ्दै

-


     मर्दी न्युज    
     २५ पुस २०७८ मा प्रकाशित


पोखरा । नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या दिनहुँ उकालो लागिरहेको तथ्याङ्कले देखाएको छ । आइतबार नेपालमा थप ११६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज पिसिआर परीक्षणबाट ८४१ र एन्टिजेन परीक्षणबाट ३२६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

आइतबार पुष्टि भएकामध्ये ६१५ जना अर्थात् आधाभन्दा बढी काठमाडौं उपत्यकामा छन् । त्यसमध्ये काठमाडौँमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना थपिएका हुन् । यस्तै कास्की जिल्लामा आइतबार ३५ जनामा संक्रमण पुष्टि भएका छन् ।

नेपालमा शनिवार ९४४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो भने शुक्रवार ९६८ जनामा संक्रमण देखिएको थियो । आइतबारसम्म देशभर ६ हजार ७ सय ५५ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई जनाले ज्यान गुमाएका छन् ।



Tags: