
पोखरा, १६ माघ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जनताको सुरक्षा एवम् संविधानको रक्षार्थ खटिने प्रहरी कर्मचारीले प्रतिकुल अवस्थामा समेत पेशागत मर्यादा लाई मध्यनजर गरी सेवा प्रवाह गर्नु पर्नेमा जोड दिएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखा परिसरमा मुख्य कार्यलय भवन, प्रहरी कर्मचारी व्यारेक, प्रहरी मेश र हिरासत गरि छुट्टाछुट्टै ६ ओटा सुविधायुक्त पक्कि भवनको आज उद्घाटन गर्दै उनले प्रतिकुल अवस्थालाई अनुकुल बनाउनकै लागी प्रहरी दिनरात खटिनु पर्ने बताएको हो ।
साधन श्रोतको अभावमा अपेक्षित सेवा दिन नसकिने उल्लेख गर्दै उनले समय सापेक्ष नविनतम प्रविधिसंगै पूर्वाधार निर्माण गरी प्रहरी संगठनलाई बलियो बनाउनु पर्नेमा जोड दिए ।
आफ्नो इमान्दारीता र जिम्मेवारीका लागि सवैले आत्मसात गर्नुपर्ने आवश्यकता औल्याउँदै प्रहरी महानिरीक्षक थापाले कुनै पनि प्रहरी कर्मचारी आफ्नो काममा नचुकेमा संगठन झुक्न नपर्ने विश्वास व्यक्त गरे ।
आम सर्वसाधारणले प्रहरी संगठनप्रति आशा एवम् विश्वास गरेको प्रसंग उल्लेख गर्दै उनले मुलुकको शान्ति सुरक्षाको जिम्मा लिएको संगठनलाई सामाजिक सञ्जालमा देखिएका टिकाटिप्पणीका आधारमा मूल्यांकन नगर्न नहुनेमा जोड दिए ।
गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त लगायतले शुभकामना व्यक्त गरेको उक्त कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले प्रहरीले सांगठानिक जिम्मेवारी पुरा गर्दै संघ र प्रदेश सरकारको आर्थिक सहयोगमा आवश्यकता अनुसार भौतिक पुर्वाधार निर्माण कार्यलाई निरन्तरता दिंदै आएको जानकारी दिए ।
गोरखा प्रहरी प्रमुख प्रहरी उपरिक्षक शेखर खनालले चुस्त र दुरुस्त सेवा प्रवाह गर्न भौतिक संरचनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै प्रहरी संगठनका उद्देश्य र तालुक प्रहरी कार्यलयका निर्देशनहरुलाई प्राथमिकतामा राखेर अघि बढेको बताए ।
नेपाल सरकारको ९ करोड २५ लाख १ सय ९५ रुपैयाको लागतमा निर्माण भएका उक्त भवनहरुमा मुख्य कार्यालय, प्रहरी मेश, कार्यालय प्रमुख निवास, प्रहरी कर्मचारी व्यारेक, हिरासत कक्ष गरी जम्मा ६ ओटा पक्की भवन निर्माण गरीएको प्राविधिक प्रहरी नायव उपरिक्षक केविनजंग थापाले जानकारी दिए ।
कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने विभिन्न संघसंस्था, निर्माण व्यवसायी तथा जिल्लामा उत्कृष्ट कार्य गर्ने प्रहरी अधिकृत तथा जवानहरुलाई कदरपत्रले सम्मान समेत गरिएको थियो ।