
पोखरा । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अहिले बिहान देशभर सामान्यदेखि पुर्ण बदली भई धेरै स्थानहरुमा मेघगर्जन/चटयाङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज देशभर सामान्य देखि पूर्ण बदली रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका धेरै स्थानहरुमा मेघ गर्जन/चटयाङ/असिना सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको छ ।
आज राती देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चटयाङ/असिना हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
साथै सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको छ ।
देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना रहेका कारण चिसो बढ्ने र यसबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।