कर्फ्युपछि वीरेन्द्रनगर सुनसान

-


     मर्दी न्युज    
     १७ फाल्गुन २०७८ मा प्रकाशित


कर्णाली । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताविरुद्धको आन्दोलन उग्र बनेपछि लगाइएको कर्फ्यु (निषेधाज्ञा)का कारण सुर्खेतको वीरेन्द्रनगर सुनसान बनेको छ । कर्फ्यु आदेश जारी भएपछि महाशिवरात्रि पर्वसम्बन्धी विभिन्न कार्यक्रम स्थगन गरिनुका साथै यहाँका शिव मन्दिर सुनसान छन् ।

प्रशासनले कर्फ्यु तोड्ने व्यक्तिलाई आवश्यकतानुसार सुरक्षाकर्मीले गोली समेत चलाउन सक्ने आदेश दिएपछि वीरेन्द्रनगर बिहानैदेखि सुनसान छ । सोमबार साँझ बन्दकर्ताले सुर्खेतका पार्टी कार्यालय, प्रहरी बिट तोडफोडका साथै आगजनीको प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिन जिल्ला सुरक्षा समितिको बैठकले सोमबार रातिदेखि आज साँझ ७ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको थियो ।

समितिको निर्णयका आधारमा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले पूर्वमा धुलियाबिट, पश्चिममा बांगेसिमल, उत्तरमा वीरेन्द्रनगर वडा नम्बर–७ र दक्षिणमा लाटीकोइली शिव मन्दिर हुँदै काँक्रेविहार, देउती बज्यै, सुब्बाकुनासम्मको क्षेत्रमा आवतजावत गर्न, भेला, जुलुस गर्न र अन्य कुनै गतिविधि गर्न नपाउने गरी कर्फ्यु जारी गरेका हुन् ।

कर्फ्यु जारीपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने प्रहरीले माइकिङ गर्दै सर्वसाधारणलाई घर बाहिर ननिस्किन आग्रह गरेको छ ।

एमसीसीविरुद्ध आन्दोलनमा उत्रिएका बन्दकर्ताले सोमबार साँझ नेकपा (एमाले), नेपाली कांगे्रस, नेकपा (माओवादी केन्द्र)का कार्यालय तोडफोडका साथै मंगलगढी चोक र एरिचोकमा रहेका प्रहरी बिटमा आगजनी गरेका थिए । रासस