ट्रेकिङ गाइड तथा सहयोगीहरुले गरे फेवातालको बृहत सरसफाई

-


     मर्दी न्युज    
     चैत्र ८ गते २०७८ मा प्रकाशित


पोखरा । कोरोनाको तेस्रो भेरियन्ट क्रमशः शिथिल हुँदैगएको, सरकारले लगाएका स्वास्थ मापदण्डहरु पनि थप सहज बन्दै गएको, बसन्त ऋतुको पुर्वसन्ध्या संगै पर्यटकहरु को आबागमनमा सुधार भएको परिप्रेक्ष्यमा पोखराको सुन्दर गहना फेवातालको सरसफाइ गरिएको छ।

कर्मफ्लाइट्स एड्भेन्चर एन्ड ट्रेक्स नेपालको आयोजना, नेपाल सोनरी-स्पेनको आर्थिक सहकार्य, पोखरा महानगरपालिका वडा नं ६ र १८ को संयोजनमा यही चैत ५ गतेदेखि ८ गतेसम्म फेवातालको बृहत सरसफाइ कार्यक्रम संपन्न गरिएको हो।

विभिन्न जिल्लाबाट पोखरा आइ पोखरालाई नै कर्मथलो बनाएका ३० जना (महिला तथा पुरुष) गाइड तथा श्रमिकहरुले ड्यामसाइड देखि गाइघाट,केदारेश्वर मन्दिर परिसर, बसुन्धरा पार्क, गौरिघाट, बाराहीघाट, क्याम्पिङ्ग घाट, बङ्गलादी, सेदि हुँदै खपौदी सम्म प्लाष्टिकजन्य फोहोर टिप्ने, निकाल्ने र उचित ब्यबस्थापन गरेका थिए।

उचित औजार तथा आबस्यक स्वास्थ सामाग्रीले सुसज्जित भएर आएका गाइडहरु ले कामगर्दा छुट्टै किसिमको रौनक छाएको थियो भने स्थानीय बासिन्दाहरु ले समेत उत्सुकता पुर्बक हेर्दै कामको प्रसंशा गरेका थिए। चारदिने बृहत सरसफाइ कार्यक्रममा २४० ठूलो प्लास्टिकको बोराभरी (लगभग ४८०० किलो) फ़ोहोर संकलन गरिएको छ।

छोटो औपचारिकता का साथ सुरुवात गरिएको कार्यक्रममा शुभकामना मन्तव्य दिदै पोखरा महानगरपालिका वडा नं ६ का वडाध्यक्ष जगत बहादुर पहारीले कोरोनाको महमारीका बेला कर्म फ्लाइटले मानवीय सेवा तथा राहत बितरण गरेको र धेरै पटक आफू उपस्थित भएको स्मरण गर्नुभएको थियो।

समापन कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं १८ का वडाध्यक्ष रण बहादुर थापाले सामाजिक क्षेत्रमा अग्रणी भुमिका खेलेको कर्म फ्लाइटस ले आपतबिपत को बेला समाजलाई पुर्याएको सहयोग साथै गरिब, बिपन्न परिवारहरु लाई शिक्षाक्षेत्रमा पनि सक्दो सहयोग गरेको स्मरणगर्नु भयो।

विशेष अतिथि पोखरा पर्यटन परिषदका अध्यक्ष गोपि बहादुर भट्टराईले सरसफाइ कार्यक्रमको प्रशंसा गर्दै आबस्यक सहयोग र हातेमालो गर्नेकुरा बताउनुभयो। शुभकामना मन्तव्य दिने बक्ताहरुमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका प्रथम उपाध्यक्ष धर्मराज पन्थी हुनुहुन्थ्यो भने सहभागीहरुको तर्फबाट मिङमा शेर्पा र शोभा सुनुवारले बोलेका थिए।

कर्म फ्लाइटस फाउन्डेसनका कार्यसमिति सदस्य कृष्ण प्रसाद पाण्डेको सभापतित्वमा सम्पन्न समापन कार्यक्रमको संचालन रेणुका कार्कीले गरेकी थिईन् भने नेपाल सोनरी स्पेनका स्वयंसेवकहरुको विशेष उपस्थिती रहेको थियो।

“नगद को लागि काम” शिर्षक बाट सम्पुर्ण गाइड तथा श्रमिकहरुलाई प्रोत्साहन रकम प्रतिब्यक्ती एकहजार पाँचसय रुपैयाँको दरले जम्मा दुई लाख पाँचहजार रुपैयाँ (प्रशासनिक तथा खाजाखर्च समेत जोडेर) बितरण गर्दै कर्म फ्लाइटस फाउन्डेसनका कार्यक्रम निर्देशक प्रेम बहादुर कुंवरले फेवाताल सरसफाइ गर्न गाइड तथा भरिया साथीहरू को सकृय उपस्थितिले अब हामी सबै मानसिक रूपमा ट्रेकिङको लागि सेवादिन तयार रहेको सकारात्मक संदेश जानेकुरा बताउदै आउनेदिन हरुमा पनि यस्ता कार्यक्रम ल्याउन सक्दो प्रयास गर्ने बताउनुभयो।

दिगो पर्यटन तथा जैविक बिबिधताको बारेमा कलम चलाउने तथा पक्षपोषण गर्ने मर्दी न्युजको तर्फबाट शेषकान्त शर्माले आफ्नो भनाइ राखेका थिए।

फोटाहरुः सेलेव फिलिप्स