
मेरो जिवनका उर्जाशिल तीन दसक उकाली ओराली गरेरै बिते। बिश्वब्यापी महामारी कोभिड- १९ का कारण बिगत दुई बर्ष पर्यटक आएनन, ब्यबसायिक पथ प्रदर्शन गर्न परेन। गरिराखेको र आफू अभ्यस्त भएको पेशा नचलेपनी अबिचलित रूपमा ती सुनौलो दिनहरु पुनः फर्किनेमा आशावादी हुनुको विकल्प रहेन।
बितेका दुई बर्ष आफ्नो बलबुताले भ्याए अनुसार खोज, अनुसन्धान र अध्ययनमा लगाँए। खासगरी पत्रकारिताका विभिन्न बिधाहरु बारेमा अन्लाईन कोर्सहरु सम्पन्न गरेपछि एउटा गाइडको नजरबाट हेरिने हिमाल र पत्रकारको नजरबाट हेरिने हिमाल बारेमा फरक पत्ता लगाउने हुटहुटी जाग्यो।

माथि उल्लेखित कारण हिमालको फेदमा नपुगेको र हिउँमा नटेकेको लामो समय भएको थियो। झोला बोकेर निस्किनु पर्यो भन्ने योजना थियो तर ठ्याक्कै कता जाने भन्ने निर्णय लिन सकेको थिइन। एकमनले टाडापानी हुँदै खोप्राडाँडा, खयरबराही ताल पुगेर नारच्याङ्ग झर्नेकी भन्ने लागेको थियो फेरि खर्चिलो यात्राको लागि आर्थिक पाटो सोचनिय बिषय थियो।
यस्तैमा मेरा सहकर्मी, नेपाल पर्वतारोहण संघ-गण्डकी प्रदेशका सचिव, मर्दी पदमार्ग प्रबर्द्धनका अगुवा अभियन्ता सुदिप गौतमले यही चैत १ गतेदेखि ३ गतेसम्मको यात्रा तय भएको र इच्छुक भए जाउँ भनेर प्रस्ताव राख्नुभयो। उहाँ त्यस एरियाको ब्यबसायी भएको र उहाँसंग जाँदा धेरैकुरा सिक्न र बुझ्न पाइने भएकोले उहाँको प्रस्ताव सहर्ष स्वीकार गरे।
आबस्यक तयारीको लागि फागुन ३० गते साँझ भलाकुसारी गर्दा सुदिपले झन सुखद कुरा सुनाउनु भयो। समग्र पर्यटन क्षेत्रलाई मिहिन ढंगले बुझेका, लामो समय प्राध्यापन गरेका बौद्धिक ब्यक्तित्व डा. रामजी शर्मा प्रीन्सिपल रहेको न्यु ग्यालेक्सी मा.बि. पोखराका ११ कक्षामा पर्यटन बिषय पढ्ने ६३ जना विद्यार्थीको टोलिको आवास तथा खानपिनको जिम्मा सुदिपले लिनुभएको रहेछ। त्यो टिममा अर्का बौद्धिक ब्यक्तित्व, पर्यटनबिद मेरा मित्र समीर बराल पनि रहने बुझेपछि हर्षको सिमा रहेन।

चैत १ गते धम्पुस सम्म बसमा चढेर त्यसपछि हिडेर पितम देउराली, डोडखर्क हुँदै कोकार (फरेस्ट क्याम्प) पुगेर बास बसियो भने चैत २ गते हुमाल (लो क्याम्प), बादल डाँडा हुँदै ३५५० मिटर उचाइको हाईक्याम्प (किउ) पुगेर बास बसियो। तेस्रो दिन बिहान भ्यु पोइन्टमा गएर हिउँ खेलियो दिउँसो सिधिङ्ग गाउँ झरेर जिप चढी पोखरा फर्कियो।
छोटो भएपनि मेरो लागि त्यो यात्रा अत्यन्तै महत्त्वपूर्ण र अबिस्मरणिय रह्यो। पहिलो बसन्त ऋतुमा ढकमक्क फुल्ने लालिगुराँस, लेकाली चाँप, सुनगाभाका साथै थुप्रै ज्ञात अज्ञात बनफुल सहितको बृहत ल्याडस्केपको दृश्यपान गर्ने, हिउँमा खेल्ने अबसर मिल्यो। दोस्रो, बौद्धिक अग्रजहरुसंग भलाकुसारी गर्दै हिड्ने दुर्लभ अबसर मिल्यो। तेस्रो आफ्नो शक्ति (उकाली ओराली गर्ने) चेकगर्ने, आफैंले आफुलाई चिन्ने मौका मिल्यो। चौथो मेरो छोराको उमेर समुहका नबयुवाहरु संग हिड्दा तिनीहरुको हाउभाउ, बोलिबचन, मनोदशा इत्यादि बुझ्ने, गुरुहरु तथा मान्यजनहरु लाई अहिलेको पुस्ताले हेर्ने दृस्ठिकोण बारे बुझ्ने मौका मिल्यो।

तिनदिने यात्राले १० बर्ष अगाडि मैले देखेको मर्दी हिमाल र अहिले, प्रकृति र बाताबरण दोहन, त्यहाँ बनिसकेका/ बन्दै गरेका होटल तथा अन्य संरचना, ब्यबसायीहरुका सबल/ निर्बल पक्ष, दिगो ब्यबस्थापन बा स्थायित्व लगायतका थुप्रै बिषयमा कलम चलाउन मिल्ने खुराक मिल्यो। पत्रकारिताको हिसाबले पनि यात्रा अत्यन्तै सफल भयो। क्रमशः आगामी अंकमा