बाजुरामा एकीकृत समाजवादी र कांग्रेस कार्यकर्ताबीच झडप, प्रहरीद्धारा हवाई फायर

-


     मर्दी न्युज    
     वैशाख २२ गते २०७९ मा प्रकाशित


बाजुरा । कुकुरलाई हिर्काएको विवादले उग्ररूप लिएपछि बुढीनन्दा नगरपालिका–९ अगाउपानीमा एकीकृत्त समाजवादी र नेपाली कांग्रेसका कार्यकर्ताबीच दोहोरो झडप भएको छ।

समाजवादीका कार्यकर्ता घर दैलो अभियानमा गएको समयमा एउटा कुकुरलाई लात्ताले हिर्काएपछि कांग्रेस समर्थक कार्यकर्ताले कुकुरलाई किन हिर्काएको भन्दै बिवाद सुरु भएकोले दोहोरो झडप भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बिरेन्द्रबहादुर बोगटीले जानकारी दिए।

कांग्रेस कार्यकर्ताको कुटाइपछि नेकपा एसका कार्यकर्ता गुहार माग्दै पाण्डुसेन प्रहरी कार्यालय पुगेका थिए । अस्थायी प्रहरी पोस्ट पान्डुसेनमा त्यसबेला ३४ जना म्यादी र ६ जना प्रहरी मात्रै थिए ।

कम जनशक्ति भएको अवस्थामा सयौँको संख्यामा आएका कांग्रेस कार्यकर्ताले प्रहरी कार्यालयमा समेत आक्रमण गरेको बताइएको छ । झडपमा १६ जना प्रहरी र ४ जना अन्य गरी २० जना घाइते भएका छन्। कांग्रेस कार्यकर्ता चौकी आक्रमण गर्न खोज्दा १६ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाए ।

त्यस्तै एकीकृत समाजवादीका २ जना र कांग्रेसका २ जना घाइते भएको प्रहरीले जनाएको छ।

घटना नियन्त्रणमा लिनका लागि प्रहरीले १४ राउन्ड हवाइ फायरसमेत गरेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएसपी चर्तूभुज ओझाले बताए। घाईते सबैको स्थानीय मेडिकलमा उपचार भईरहेको र घाईतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।